निःसन्तान दम्पतीको कथा लिएर ‘मनसरा’

  बैशाख २२, २०८१

काठमाडौँ, २२ वैशाख : उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निःसन्तान दम्पतीको व्यथा, हराएका पात्रको पुनर्मिलन, अन्तरजातीय सम्बन्ध जस्ता कथा, उपकथा वरिपरि चलचित्रमा घुमेको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईलगायत कलाकारको अभिनय रहेको छ । 

कथाकार, कविका रूपमा समेत चर्चित निर्देशक सुब्बाकै कथा लेखन रहेको सो  चलचित्रका कार्यकारी निर्मातामा सिजन दाहाल हुनुहुन्छ । चलचित्रमा समाजका दुःखसुख र यथार्थ देखाउन खोजेको लेखक सुब्बाले बताउनुभयो ।

उहाँका अनुसार मनसरामा यसअघि बनाएका चलचित्रभन्दा पृथक् कथा छ । चलचित्रका निर्माता छायाकार शैलेन्द्रध्वज कार्की हुनुहुन्छ । विष्णुकुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ फिल्मका सहनिर्माता रहनुभएको जनाइएको छ  । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट कम्पनीले  वितरण र क्युएफएक्स थिएटर पार्टनर रहेको छ ।

तपाईको प्रतिक्रिया