खुसीले ल्याइन् गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’

  चैत २६, २०८०

काठमाडौँ, २६ चैत : पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

आज यहाँ गायिका खुसी थुलुङ्ग राईको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँले गीतसङ्गीतका माध्यमले सर्जकले दिने सन्देश सिधै समाजमा पुग्ने बताउनुभयो ।

“गीतसङ्गीतलाई मनोरञ्जनकै रुपमा मात्र लिनुहुँदैन, यसले समाज रुपान्तरणमा भूमिका निर्वाह गर्ने भएकाले म सर्जकलाई सोहीअनुसार कला र संस्कृतिलाई प्रयोग गर्न आग्रह गर्छु, यद्यपि गीतको आफ्नै शैली हुन्छ, यो अहिले सामान्य सुनियता पनि कालान्तरमा यसको महत्व दर्सिन्छ”, पूर्वमन्त्री राईले भन्नुभयो ।

उहाँले गीतिसङ्ग्रहमा समावेश आठ गीतमध्ये श्रव्यदृश्य तयार पारिएको पहिलो गीत ‘प्रेमको अर्थ’ हेरेपछि अभिनय गर्ने मोडल रुकमान लिम्बू र करिश्मा श्रेष्ठको प्रसंशा गर्नुभयो । उहाँले भन्नुभयो, “कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, गायिकाले सुमधुर स्वरमार्फत सजिलै मोहित गर्न सक्नुहुन्छ, म उहाँहरूलाई गीतसङ्गीतलाई निरन्तरता दिन आग्रह गर्दछु ।”

गायिका राईले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो । “मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु, म नयाँ भए तापनि यस क्षेत्रलाई नियाल्दै अगाडि बढिरहेको सङ्गीतको विद्यार्थी हुँ, प्राप्त प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ”, गायिका राईले भन्नुभयो ।

सार्वजनिक गीत ‘प्रेमको अर्थ’ मा क्रान्ति सुब्बाले शब्द रचना र हरी लम्सालले सङ्गीत दिनुभएको छ । गीतको श्रव्यदृश्यमा देखिनुभएका मोडल लिम्बूले एक प्रेमिल जोडीको जीवनलाई श्रव्यदृश्यमा देखाइएको बताउनुभयो ।

“गीतमा श्रीमतीलाई माया गर्ने श्रीमान्को कथालाई देखाइएको छ, उसको निःस्वार्थ भाव र प्रेमले श्रीमतीलाई आकर्षित गर्ने पक्षलाई हामीले श्रव्यदृश्यमा समेटेका छौँ, यो गीतको श्रव्यदृश्यले प्रेमलाई परिणामको आशा नगरी व्यक्त गर्न प्रेरित गर्छ”, मोडल लिम्बूले भन्नुभयो । गीतको श्रव्यदृश्यलाई राजेश पुमा राईले निर्देशन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया