डिआर उपाध्यायले राखे नयाँ  विश्व रेकर्ड

  चैत २४, २०८०

काठमाडौँ, २४ चैत : विश्व कीर्तिमानको पहिचान बनाउनुभएका चर्चित साहित्यकार एवं गीतकार डा. डिआर उपाध्यायले २० वटा नयाँ  विश्व रेकर्ड राख्नुभएको छ । 

राजधानीमा आयोजित कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई उक्त नयाँ विश्व कीर्तिमान रेकर्डका प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । 

उहाँले साहित्य र सङ्गीतका क्षेत्रमा गर्नुभएको नयाँ उपलब्धीका लागि  यस अघि १३३ वटा विश्व रेकर्ड कायम गर्नुभएको दावी गरिएको छ । बिहीबारदेखि २० वटा नयाँ विश्व रेकर्ड थपिएर नेपालमा सबैभन्दा बढी विश्व कीर्तिमान राख्ने व्यक्तिको पहिचान बनाउनुभएको छ । 

मन्त्री उप्रेतीले डा. उपाध्याय अन्य नेपालीका लागि प्रेरणाको स्रोत बन्नुभएको धारणा राख्नुभयो । गीतकार राधेश्याम लेकालीले विश्व कीर्तिमानी डा. उपाध्यायले प्राप्त गर्नुभएको विश्व कीर्तिमानका पद्वीहरू राष्ट्रका सम्पतीका रूपमा सुरक्षित हुनुपर्ने बताउनुभयो ।

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका बज्रघाट, त्यागी, भाग्यचक्र, अपवित्र छाया, स्वार्थी, बितुली, अतिरिक्त, दगावाज, अधुरो प्रेम, सपना की रानी र कफी लभलगायतका १६ वटा उपन्यास प्रकाशित छन् । माया, मादक आँखा, घाउ, प्रतिध्वनि, प्रणय, सहेली, जोहो, अन्तराप, जाखम, प्रतिनाद, नसलु नजर, माउन्टेन मेलोडी, कृति, परिष्कृत, पृथक, सुधारस, अन्जान तिर्खालगायत ३६ वटा गीति एल्वम र तीनवटा गीति सङ्ग्रह प्रकाशित  छन् ।

तपाईको प्रतिक्रिया