‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक

  चैत २२, २०८०

काठमाडौँ, २२ चैत : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक चलचित्र बनेको बताउनुभएको छ । उहाँले मङ्गलबार बेलुकी महाजात्रा हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो भनाइ राख्नुभएको हो ।

“देशमा सुशासन, समृद्धिको कुरा गर्छौं तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई भिन्न शैलीमा चलचित्रमा प्रस्तुत गरिएको छ । नेताहरूले चलचित्र हेरेर मम भन्न सक्नु पर्छ,” पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “राजनीतिज्ञले सत्यलाई स्विकार्नु पर्छ तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहँदा कुनै क्षण भावुक भएँ, केही दृश्यमा आँसु रोक्न सकिनँ । समग्रमा चलचित्र हेरेर आनन्द आयो ।”

उहाँले यस्ता चलचित्रले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयनलगायतका सम्पूर्ण पक्ष मन परेको बताउनुभयो । “चलचित्र आमदर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ,” उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिव्रिmया लिन हलमै पुग्नुभएका निर्देशक प्रदीप भट्टराईले आफूले चलचित्रमार्फत दिएको सन्देशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताउनुभयो । “हामीले सक्किने कि सच्चिने ? भन्ने प्रश्न फिल्ममा उठाएका छौँ । यस पटक मनोरञ्जनसँगै फिल्मकर्मीको दायित्व बहन गर्दै हामीले राष्ट्रिय विषयलाई उठान गरेका छौँ । देश र विदेशबाट आइरहेको प्रतिव्रिmयाले हामीलाई हौसला थपेको छ,” निर्देशक भट्टराईले भन्नुभयो ।

चैत ९ देखि प्रदर्शन भएको चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देललगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया