काठमाडौँमा ‘नेपाली क्यारिकेचर प्रदर्शनी’

  फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग तथा कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा ‘नेपाली क्यारिकेचर–२०८० प्रदर्शनी’ सुरु भएको छ ।

प्रदर्शनीको अग्रज कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ले उद्घाटन गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कार्टुन÷क्यारिकेचर कलालाई अझ विकास गर्न जरुरी रहेको बताउँदै यस किसिमको कार्यक्रमलाई व्यवस्थित र उत्कृष्ट बनाउन सबैबाट सहयोग हुनुपर्ने बताउनुभयो । नेपालमा २०७४ सालदेखि नेपाली क्यारिकेचर प्रदर्शनी हुँदै आएको छ ।

प्रतियोगितामा सहभागी ३३ कलाकृतिमा छनोट तथा मूल्याङ्कन मापदण्डभित्र परेका प्रतियोगी कलाकृतिहरूमध्ये तीनजनालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार आज प्रदान गरिएको छ जसमध्ये प्रथम पुरस्कार अनुप गुरुङ (कुलदीप जङ्गबहादुर गुरुङ), द्वितीय पुरस्कार अनिशा भण्डारी र तृतीय पुरस्कार विश्व थापामगरले पाउन सफल हुनुभएको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु १२ हजार र रु आठ हजार रहेको छ ।

कार्यक्रममा कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले ‘नेपाली क्यारिकेचर ः काठको ब्लकदेखि एआईसम्म’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले क्यारिकेचरको प्रारम्भिक कला, आधुनिक काल, प्रविधि र प्रवृत्ति, एआई : अवसर कि चुनौतीलगायत पाटोको चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “काठको ब्लक प्रविधिदेखि अहिले एआईसम्मको यात्रामा नेपाली क्यारिकेचरले अनेक आयाम पार गरिसके पनि धेरैजसो नेपाली क्यारिकेचर कलाकारहरुमा चित्तबुझ्दो पारङ्गतता देखिएको छ । पारङ्गत कलाकारिताबिना क्यारिकेचर कलाको सृजना गर्न सकिँदैन ।”

कार्यपत्रमाथि टिप्पणी गर्दै कलाकार रवीन्द्र मानन्धरले क्यारिकेचरको इतिहासदेखि वर्तमानसम्मको पाटोलाई निकै सरल ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । उहाँले नेपालमा क्यारिकेचरको विकासमा अग्रजको योगदानलाई कार्यपत्रमा सङ्क्षिप्त रुपमै भए पनि राखिएको सुनाउनुभयो ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले नेपालमा क्यारिकेचरलाई माथि उठाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले क्यारिकेचरले व्यावसायिकदेखि अन्य विविध क्षेत्रमा करिअर नै बनाउन सक्ने ठूलो सम्भावना रहेको धारणा राख्नुभयो ।

प्रदर्शनीमा अविन श्रेष्ठ, अकृन अधिकारी, अनिसा भण्डारी, अनुप गुरुङ, अर्पिता शाक्य, अशोकमान सिंह, वामन चालिसे, वासु क्षितिज, भानु भट्टराई, विनय भण्डारी, विश्व थापा, चेतन गौतम, देवेन्द्र थुम्केली, हरिशरण ढुङ्गाना, केशवराज खनाल, महेश बस्ताकोटी, मनरा प्रजापति, एनबी गुरुङ, पल्पासा मानन्धर, पानसिंह तमोरका क्यारिकेचरहरु छन् ।

कार्टुनिस्ट रवि मिश्र, रवीन सायमी, रवीन्द्र मानन्धर, रामहरि रिमाल, राजेश मानन्धर, रामकृष्ण थापा, सविना रिजाल, सानुराज डङ्गोल, सागर शाह, सुजिता महर्जन, सुदर्शन सिग्देल, सौरभ कोइराला, उमेशचन्द्र अधिकारीलगायत क्यारिकेचर पनि रहेका छन् । प्रदर्शनी चैत १ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया