‘सरकारले नेपाली चलचित्रलाई प्रोत्साहन गर्छ’

  फागुन १८, २०८०

काठमाडौँ, १८ फागुन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चलचित्र कला, संस्कृतिसँगै इतिहासको दस्ताबेज भएकाले सरकारले सदैव प्रोत्साहित गर्ने बताउनुभएको छ । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा नेपाली चलचित्र ‘गोर्खा वारियर’ हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दैै उहाँले यस्ता चलचित्र निर्माणको सङ्ख्या बढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “चलचित्र समाजको ऐना हो, यो कला र संस्कृतिको दस्तावेज पनि हो, गोर्खा वारियरमा गोर्खालीको वीरतासँगै उक्त समय कला र संस्कृतिलाई पनि समेटिएको छ, यसले अहिलेको पुस्तासम्म उक्त समयलाई ल्याएको छ, नेपाली र नेपाल चिनाउने चलचित्र निर्माण गर्नुभएकामा म सम्पूर्ण टोलीलाई बधाई दिन चाहन्छु ।” उहाँले कला र चलचित्र क्षेत्रको हितका लागि आफू तथा सरकार सदैव तयार रहेको बताउनुभयो ।

चलचित्रका लेखक र निर्देशक मिलन चाम्सले गोर्खालीको चलचित्रलाई गृहमन्त्री श्रेष्ठले हेर्नुभएपछि आफूसहित निर्माण समुहलाई हौसला मिलेको बताउनुभयो । “चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहँदा नेपाल सरकारका उच्च अधिकारीको उपस्थितिले हामीमा नयाँ ऊर्जा थपिएको छ, पुर्खाले वीर गोर्खालीका रुपमा पाउनुभएको सम्मानलाई पर्दामार्फत विश्वसामु पु¥याउन कुनै सम्झौता गरेका छैनौँ”, निर्देशक चाम्सले भन्नुभयो ।

विशेष प्रदर्शनीमा उपस्थित अभिनेता रितेश चाम्स, निर्माता सुमन राई, वितरक करण श्रेष्ठलगायतले पनि चलचित्रको विषयमा चर्चा गर्नुभएको थियो । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ ।

यसमा मुख्य भूमिका निर्वाह गर्नुभएका अभिनेता चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुनुहुन्छ । उहाँले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिनुभएको थियो । चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया