खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी : उपप्रधानमन्त्री खड्का

  माघ ०३, २०८०

काठमाडौं, ३ माघ : उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ ।

बुधबार ललितपुरमा आयोजित १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो । विगतका कमी, कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको जानकारी दिनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहले आफ्ना स्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘‘विशेष गरी नेपालको खेलकुद विकास, खेलाडीको उन्नति प्रगति हामी सबैको प्रयास, खेलाडीहरूको समर्पण, निष्ठा, पूर्णरुपमा आफ्नो जीवनलाई खेलमा समर्पण गरेका खेलाडीहरूलाई जसरी हामीले उत्साहित, प्रोत्साहित गर्न जरुरी छ ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘त्यसका लागि सबैको सहयोगको आवश्यकता छ । सङ्घीय, प्रदेश, स्थानीय तहको सरकार सबैले आफ्नो तहको श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षण, उन्नति र प्रगतिका लागि त्यसतर्फ केन्द्रित गर्नुपर्ने जरुरी छ । खेलाडीहरूको उन्नति प्रगतिमा थप लगानी गर्नेछौँ ।’’

उपप्रधानमन्त्री खड्काले खेलाडीहरूको सेवा सुविधा बढाउन एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

‘‘नेपालको खेलकुदको सन्दर्भमा भौतिक पूर्वाधारहरू जुन गतिमा तीव्र गतिमा अघि बढाउनुपर्ने हो त्यो गतिमा बढाउन सकेका छैनौँ । त्यसैले विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै आज र भोलिका दिनमा हामीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘खेलाडीहरूमा जुन ऊर्जा र उत्साह छ, जुन समर्पण छ, विशेष गरी खेलका पूर्वाधारहरू नहुँदा आवश्यक आर्थिक उपलब्धताको कमीका कारणले जति प्रगति गर्नसक्ने क्षमता हो त्यसमा अघि बढ्न सकेको छैन । हामी सबै समर्पित भएर अघि बढ्न जरुरी छ । सङ्घ, प्रदेश र स्थानीय सरकार एकताबद्ध भएर खेलकुदको विकास र उन्नतिका लागि, भौतिक पूर्वाधार विकासका लागि, खेलाडीहरूको उन्नति प्रगतिका लागि प्रोत्साहित गर्न र सेवा सुविधा बढाउन एकताबद्ध भएर अघि जानु छ ।’’

तपाईको प्रतिक्रिया