राष्ट्रिय बालनाटक महोत्सव हुने

  पुष ०९, २०८०

काठमाडौँ, ९ पुस : शैली थिएटरको संयोजकत्वमा काठमाडौँमा १५ औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजन हुने भएको छ । माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव आठ दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी सदन कमलपोखरीमा हुने छ ।

महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, नाट्यसमूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ । आवेदन पुस ५ देखि २१ सम्म पठाइसक्न आग्रह गरिएको छ । 

स्क्रिप्ट बालबालिकासँग सम्बन्धित हुनुपर्ने आयोजकले जनाएको छ । यद्यपि नाटकमा जसमा जुनसुकै उमेर समूहका कलाकारले अभिनय गर्न सक्ने छन् । महोत्सवमा प्रतियोगिताका लागि मात्र नभई सहभागिताका लागि पनि नाटक पठाउने सकिने शैली थिएटरले जनाएको छ । नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न नपाउने नियम आयोजकले बनाएको छ ।

त्यसै गरी नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दाअगाडि र पर्दापछाडि गरी बढीमा १५ जनासम्मको समूह मात्र सहभागी हुन पाइने आयोजकको भनाइ छ । छनोट भएर काठमाडौँ उपत्यका बाहिरबाट आउने नाटकको समूहलाई काठमाडौँमा खाना र बस्नको प्रबन्ध आयोजकले गर्ने छ । प्रतियोगी नाटकलाई विभिन्न सात विधामा नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगी नाटकका लागि उत्कृष्ट अभिनेता पुरस्कार सात हजार, उत्कृष्ट निर्देशक पुरस्कार सात हजार, उत्कृष्ट नाटक पुरस्कार १० हजार, प्रोत्साहन पुरस्कार पाँच हजार, पब्लिक च्वाइस पुरस्कार पाँच हजार, अनुशासित नाटक पुरस्कार पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया