खुलामञ्चमा ‘महाजात्रा’

  पुष ०५, २०८०

काठमाडौँ, पुस ५ : तीन दिनयता खुलामञ्चमा मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा सङ्गीत बजिरहेको छ भने खुलामञ्चमा नेताको भाषा र चुनावी सभा छ । गाउँघरको मेला झन्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’ को छायाङ्कनका लागि हो । एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायाङ्कन भइरहेको छ । यसले त्यहीँ काम गर्नेलाई पनि रमाइलो आभाष गराएको छ ।

गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आस्मा विश्वकर्माले नृत्य गरिरहनुभएको छ भने अर्कोतर्फ मञ्चमा चाहि क्लाइमेक्स दृश्यको छायाङ्कन भइरहेको छ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो..’ गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहनुभएको छ ।

एक सय बढी कोरसको प्रयोग गरिएको गीतमा चलचित्रका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत पनि देखिनुभएको छ । प्रचारप्रसारका लागि तयार गरिएको गीत भएकाले सबै कलाकारलाई प्रयोग गरिएको निर्देशक भट्टराईले बताउनुभयो । चलचित्रमा अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया