नवलपुरको मौला कालिका भगवती मन्दिर

  कार्तिक ०४, २०८०

नवलपुर, ४ कात्तिक : नवलपुर जिल्ला अर्थात् नेपालकै प्रख्यात शक्ति प्रबल मौला कालिका मन्दिर । यो भगवतीको मन्दिर नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ अन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणी पुलबाट करिब ४ किलोमिटरको दूरीमा प्राकृतिक सम्पदाले भरिपूर्ण समुन्द्र सतहदेखि १८४१ फिटको उचाइमा रहेको हरियाली पहाडको जङ्गलको गैडाकोटधुरीमा अवस्थित रहेको छ ।

१५औँ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणि मुकुन्द सेनको आफ्नो शासनकालमा यस स्थलमा सैनिक राखी देवघाट धाममा चक्रवती शिला स्थापना सहित तीर्थ वास गरेको र सैनिक टुकडीलाई शक्ति आराधनाको लागि मौलो गाडी पीठका रूपमा पूजा अर्चना गर्न यस स्थलमा व्यवस्था गरेका थिए । उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा गरेका थिए भन्ने किम्बदन्ती रहेको छ । तत्पश्चात् स्थानीय गाउँलेहरूले पालै पालो गरी पूजा चलाएका थिए ।

यस स्थलमा पहिला ठुलो सालको रुख थियो । १९९० सालको महाभूकम्पमा उक्त सालको रुख ढल्न गएर रुखसँगै जोडिएको मन्दिरमा भएका ऐतिहासिक एवं धार्मिक संरचनाहरू ध्वस्त भए । कालान्तरमा गाउँका आदिवासीहरू अन्यत्र बसाई सर्न थाले र यस भगवतीको पूजा पाठ गर्ने चलन बिस्तारै कम हुँदै गयो ।

२०३२ सालमा बनाएको सानो मन्दिर पुनः भत्किए पछि २०४२ सालमा विभिन्न सङ्घ, संस्था, सुरक्षा निकाय, उद्योग व्यवसायी र स्थानीयवासीहरुको सहयोगबाट निकै नै आकर्षक र कलात्मक प्यागोडा शैलीको मन्दिरको निर्माण भएको हो ।

मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको निकै नै आकर्षक मौला कालिका भगवतीको मूर्ति बिच भागमा रहेको छ भने दाहिने तर्फ कालो प्रस्तरकै विष्णु शिला, लक्ष्मी, दुर्गाको मूर्ति र बांयातर्फ कालोप्रस्तर कै शिवलिंग, सरस्वती, शिव र गणेश भगवानको मूर्ति रहेको छ ।

मन्दिरका प्रमुख पण्डित क्षेत्रप्रसाद पराजुलीका अनुसार शक्तिस्वरुपा मौला कालिका भगवतीको पूजा अर्चना आराधना एवं उपासना गर्नाले मनले चिताएको पुग्नुका साथै दुःख, आपतविपत् र सङ्कट परेको अवस्थामा भगवतीको प्रार्थना गर्नाले सहन शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको र यस मन्दिरमा दैनिक नित्य पूजा बिहान र बेलुका गरेपछि मात्र भक्तजनहरूलाई मन्दिरमा प्रवेश गराइने पण्डित पराजुली बताउनु हुन्छ । 

यस मन्दिरमा भारत, भुटान लगायत विभिन्न देश बाट समेत भक्तजनहरू श्रद्धाका साथ आउने गर्दछन् । यस मन्दिरमा पहिला १८८२ वटा उकालो सिडी चढेर जानु पर्थ्यो भने हाल मौलाकाली केबुलकारले केबुलकार सञ्चालनमा ल्याएपछि भगवती मन्दिर परिसर क्षेत्रमा सहज रूपमा  ५ देखि ७ मिनेटमा पुग्न सकिन्छ ।

उच्च पहाडमा यो भगवतीको मन्दिर रहेकोले यस धार्मिक स्थलबाट उत्तर(पूर्व ईशान कोणमा शालग्रामगर्भा श्रीकृष्णगण्डकी र शिवशुलप्रसुता त्रिशूली नदीको संगमस्थल तपोभूमी देवघाट धाम, हिमशृङ्खलाहरूका साथै दक्षिण-पश्चिमतर्फ नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज, नारायणगढ, सौराहा, गैँडाकोट बजार आदीको दृश्यावलोकन बडो मनोरम देखिने गरिन्छ । साथै यो स्थल पर्यटकीय दृष्टिकोणले पनि निकै नै महत्त्वपूर्ण समेत रहेको छ ।

मन्दिर व्यवस्थापनको लागि सालिकराम सापकोटाको अध्यक्षतामा धार्मिक सेवा समिति मौला कालिका मन्दिर गठन गरिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया