महिला फुटबल टोलीको बिदाइ

  असार २५, २०८०

काठमाडौं, २५ असार : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ ।

सातदोवाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रमबीच सोमबार एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतले महिला टोलीको बिदाइ गर्नुभयो । नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा लागि बङ्गलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । यसपटक नेपाललाई गल्ती सुधार गर्दै बङ्गलादेशसँग बलदा लिने अवसर छ ।

मैत्रीपूर्ण खेलमा लागि प्रशिक्षक अनन्तराज थापाले यसअघिनै एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ । नेपाली टोली मंगलबार बङ्गलादेश जानेछ ।

तपाईको प्रतिक्रिया