न्यू डायमन्ड, पुलिस र एपिएफ विजयी

  असार २५, २०८०

काठमाडौँ, २५ असार : राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज भएको खेलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

न्यू डायमन्डले एभरेस्ट क्बललाई खेलको पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पा-यो भने खेलको दोस्रो सेट २५-१२ ले जित्यो । त्यस्तै खेलको अन्तिम सेट न्यु डायमन्डले २५-१२ ले पक्षमा पार्दै विजयी हासिल ग-यो ।

न्यू डायमन्डले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । हिजो भएको आफ्नो पहिलो खेलमा न्यू डायमन्डले गण्डकी प्रदेशलाई पराजित गरेको थियो । यता पराजित एभरेस्टको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा एभरेस्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भयो । एपिएफले गण्डकी प्रदेशमाथि २५-१२, २५-१८ र २५-८ ले पराजित गर्दै विजयी भएको हो ।

सोही स्पर्धाको अर्को खेलमा विभागीय टोली नेपालले पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले आर्मीलाई २५-१८, २५-१२ र २५-१८ ले खेल आफ्नो पक्षमा पारेकाे छ ।

तपाईको प्रतिक्रिया