परिचित यूएईसँग प्लेअफ खेल्दै नेपाल

  असार १६, २०८०

काठमाडौं, १६ असार : जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफ खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ ।

ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा दिउँसो १२:४५ बजे सुरु हुने यस खेलको विजेताले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।शुक्रबार भएको अर्को प्लेअफ खेलमा आयरल्यान्डले अमेरिकालाई पराजित गरेको थियो । नेपाल र यूएईबीचको पराजित टोलीले अमेरिकासँग नवौँ र दसौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट स्पर्धामा युएई नेपालका लागि परिचित प्रतिद्वन्द्वी हो । नेपाल र युएईबीच अहिलेसम्म १४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले आठ खेल र यूएईले ६ खेल जितेको छ । यी दुई टोलीबीच अन्तिम खेल गत वैशाखमा एसीसी प्रिमियर कपको फाइनलमा भएको थियो । जुन खेलमा नेपाल सात विकेटले पराजित भएको थियो ।

विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डढ्स र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए । नेपाल चौथो र अमेरिका पाँचौँ बन्दै प्लेअफमा पुगेको हो ।

यस्तै समूह ‘बी’ बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए । यस समूहबाट आयरल्यान्ड चौथो र यूएई पाँचौँ बन्दै प्लेअफमा पुगेको हो ।

नेपाल समूह चरणको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । अन्तिम तथा चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो ।

यस्तै सुपर सिक्स पुगेका प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

तपाईको प्रतिक्रिया