१९औँ एसियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी

  असार १४, २०८०

काठमाडौं, १४ असार : नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औँ एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका २३३ नेपाली खेलाडीले चीनको हाङझाउ सहरमा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औँ एसियाड सुरु हुँदैछ ।

कोभिड महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको १९ औँ एसियाड यस पटक भने निर्धारित समयमा नै हुने आशामा एसियाली राष्ट्रका खेलाडीहरू छन् । यसअघि सन् २०२२ को सेप्टेम्बरमा १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर चीनमा महामारी फैलिएपछि प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एसियाली खेलकुद प्रभावित हुन पुग्यो ।

हाङझाउ एसियाड आउन अब ८७ दिन मात्र बाँकी छ । आयोजना नजिकिँदै गर्दा नेपाली खेलाडीहरूले आफ्नो तयारी तीव्र बनाइरहेका छन् । यस पटक नेपालको तर्फबाट कुल ५० जना प्रशिक्षकको प्रशिक्षणमा २३३ खेलाडीहरू १९ औँ एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् ।

नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले आयोजना नजिकिँदै गर्दा खेलाडीको तयारीमा तीव्रता दिइएको बताउनुभयो । भारोत्तोलनका लागि वैदेशिक प्रशिक्षणको योजनामा रहेको पनि उहाँको भनाइ छ ।

भारोत्तोलनका लागि नेपाली खेलाडी विशेष प्रशिक्षण गरिरहेका छन् । २९ खेलमध्ये गल्फ वैदेशिक प्रशिक्षणअन्तर्गत भारतको बैंग्लोरमा प्रशिक्षण गरिरहेको छ । अन्य केही खेल पनि वैदेशिक १९ औँ एसियाली खेलकुद सचिवालयका सचिव प्रचण्ड शर्माले आगामी साउन १ देखि असोज ३ गतेसम्म खेलाडीलाई क्लोज क्याम्पमा राख्ने जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विगतका प्रदर्शन र नतिजाका आधारमा तीन खेल तेक्वान्दो, कराते र बक्सिङलाई पहिलो प्राथमिकतामा राखेर तयारी गराइरहेको छ । एसियाली खेलकुदमा यी तीन खेलले नै नेपाललाई पदक दिलाउँदै आइरहेका छन् ।

१६औँ एसियाडमा कांस्य पदक विजेतासमेत रहेका बक्सर दीपक महर्जनले नेपाली बक्सिङ टोलीले ढेड महिनादेखि राम्रो तयारी गरिरहेको बताउनुभयो । भारतीय प्रशिक्षकको नेतृत्वमा खेलाडीहरूले प्रशिक्षण गरिरहेको तयारी प्रभावकारी भइरहेको उहाँको भनाइ छ ।

हाल नेपाली बक्सिङ प्रशिक्षण टोलीका सदस्यसमेत रहेका महर्जनले पदक सम्भावनाका हिसाबले सरकारले पहिलो प्राथमिकतामा राखेकाले आफूहरूले पनि सोही अनुरूप मेहनत गरिरहेको बताउनुभयो । तथापि, आवश्यक डाइटमा भने पर्याप्त सहयोग नभएको प्रशिक्षक महर्जनको गुनासो छ ।

गोङझाउ एसियाडमा आफूले राम्रो वैदेशिक प्रशिक्षण पाएकाले पदक जित्न सफल भएको उहाँ बताउनु हुन्छ । यस पटक पनि राम्रो वैदेशिक प्रशिक्षण पाएमा सरकारको योजनाअनुरूप नेपाली बक्सिङ टोलीले पदक दिनसक्ने प्रशिक्षक महर्जनको विश्वास छ ।

सुरुमा नेपालका २३ वटा खेलले एसियाडमा प्रतिस्पर्धा गर्ने तय थियो । यद्यपि, राखेपको ११६औँ बोर्ड बैठकले खेल थप गर्दै नेपालका २९ वटा खेलका खेलाडीको प्रतिस्पर्धा गराउने निर्णय गरेको थियो । हालसम्म २९ खेलमध्ये २८ खेलको अन्तिम छनोट भइसकेको छ । यीमध्ये पुरुष क्रिकेट र इ  इस्पोर्ट्स को अन्तिम छनोट भइसकेको छैन । पुरुष क्रिकेट हाल जिम्बाबेमा विश्वकप छनोट खेलिरहेको छ । अर्को इ स्पोर्ट्स एसियाडमा छनोट हुनकै लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिरहेको छ ।

अधिकांश खेलले विशेष प्रशिक्षण थालेका छन् । गत असार एक गतेदेखि विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई राखेपले दैनिक नौ सय र उपत्यकाबाहिरका खेलाडीलाई १६ सयका दरले भत्तासमेत प्रदान गर्दै आइरहेको छ । राखेप सदस्यसचिव टङ्कलाल घिसिङले खेलाडीहरूको तयारीबारे हरेक दिनजसो अनुगमन र निरीक्षण गर्दै आइरहनुभएको छ । यस क्रममा उहाँले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र खेलाडीको समस्यालगायत विषयमा जानकारी लिँदै आइरहनुभएको पनि छ ।

तपाईको प्रतिक्रिया