बागलुङमा बढ्दै स्वास्थ्य बिमाको पहुँच

  जेठ २६, २०८०

गलकोट, २५ जेठ : बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बिमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बिमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ ।

“लगातार छ वर्षदेखि स्वास्थ्य बिमा गर्दै आएको छु, गत वर्ष त रु एक लाख रकम नै उपचारमा सकियो, रु तीन हजार पाँच सय रकम तिरेर रु एक लाखको उपचार पाउँदा निकै राहतको महसुस भयो”, आचार्यले भन्नुभयो, “स्वास्थ्य बिमाले उपचारमा सहज बनाएको छ, अहिले स्वास्थ्य बिमा गर्न आवश्यक छ भनेर आफँैले समेत अरुलाई भन्ने गरेको छु ।”

बागलुङको धौलागिरि अस्पतालको स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको हो । पैसा बोकेर अस्पताल जाने व्यक्ति अहिले स्वास्थ्य बिमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् । आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बिमाले निकै सजिलो भएको बिमाकर्ता बताउँछन् । अहिले धौलागिरि अस्पतालमा दैनिक न्यूनतम तीन जना स्वास्थ्य बिमा गरेका बीमित सदस्य नियमित सेवा लिन अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालको भनाइ छ । अस्पतालमा दिन नसकिएको सिटिस्क्यान, एमआरआइ र अन्य ठूला रोगको उपचारका लागि स्वास्थ्य बिमाबाटै अन्यत्र सिफारिस गर्दै आएको अस्पतालले जनाएको छ ।

पछिल्लो समय जिल्लामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या क्रमशः बढ्दै आएको छ । स्वास्थ्य बिमाबाट बीमित परिवारलाई रु एक लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बिमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या पनि उल्लेख्यरुपमा वृद्धि भएको छ । जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बिमाको पहुँचमा आइसकेको स्वास्थ्य बिमा बोर्ड बागलुङले जनाएको छ ।

बागलुङमा ३१ हजार नौ सय १० परिवारका ९७ हजार नौ सय ८९ जना स्वास्थ्य बिमामा आबद्ध भएका स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष स्वास्थ्य बिमा गर्नेको सङ्ख्या सात प्रतिशतले वृद्धि भएको जिसीको भनाइ छ ।

बागलुङमा रु ५१ हजार सात सय ३३ महिला र ४६ हजार दुई सय ६१ पुरुष स्वास्थ्य बिमामा आबद्ध भइसकेका तथा सबैभन्दा बढी बिमा बागलुङ नगरपालिकामा भएको उहाँले बताउनुभयो । “विपन्न समुदायका लागि स्वास्थ्य बिमा निकै प्रभावकारी बनेको छ, उपचार पाएकाले बिमा नवीकरण गर्ने गरेका छन्, केहीले उपचार नपाएको गुनासोसमेत गर्ने गरेका छन्”, जिसीले भन्नुभयो, “बिमाबाट सेवा पाएकाले अन्यलाई समेत बिमा गर्न हौसला दिएका छन्, त्यसैको प्रभावले बिमामा आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि भएको छ ।”

यस वर्ष स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा १० प्रतिशत वृद्धि गरी ५० प्रतिशत पु¥याउने योजना रहेको जनाइएको छ । बागलुङका १० स्थानीय तहमध्ये केही पालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि हुँदै आएको हो । जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बिमा गराउन थालेका छन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बिमा गराउने गरी जिल्लाका पालिका अगाडि बढेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र जैमिनी नगरपालिकाले गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने योजनाका साथ कार्यक्रम अगाडि बढाएका छन् । रासस

तपाईको प्रतिक्रिया