अस्थायी संरचनामा किबी जोगाउनै कठिन

  जेठ २४, २०८०

बलेवा, २४ जेठ : काठेखोला गाउँपालिका–३ धम्जाका किसान बमबहादुर खड्काको करेसाबारीमा १५ बोट किबीका बिरुवा हुर्किरहेका छन् । चार वर्षअघि लगाएका बिरुवाले गत वर्षदेखि फल दिन थालेका हुन् ।

काठ र बाँसका अस्थायी खम्बामा हुर्किएका किबीका बिरुवाले पहिलो वर्ष फल्दा धान्न सकेनन् । गत वर्ष काठ र बाँसका खम्बा भाँचिएपछि बमबहादुरले फलामका खम्बाले बिरुवालाई आड दिने निधो गर्नुभयो । उहाँले सोधखोज गर्दा फलामको खम्बा घामपानीमा खुल्ला ठाउँमा रहँदा लामो समय नटिक्ने थाहा पाउनुभयो । अहिले बमबहादुर सिमेन्टको पक्की खम्बा बनाउने तयारीमा हुनुहुन्छ ।

धम्जामा बमबहादुरलाई मात्रै यो समस्या परेको होइन । यहाँका अधिकांश किसानको पाखो बारीमा किबीका बिरुवा लगाइएका छन् । वनजङ्गल नजिकै भएकाले यहाँ काठ र बाँसको समस्या छैन् । काठ र बाँसका खम्बा भाँचिन थालेपछि किसान मर्कामा छन् । “किबी लगाउँदा पक्की खम्बा नभएसम्म लगाउन नहुँदो रहेछ, धेरै वर्ष फल्ने किबीलाई काठ र बाँसका खम्बा कामै नदिने रहेछन्”, बमबहादुरले भन्नुभयो, “पक्की खम्बा नभए फेरिरहनुपर्ने रहेछ ।”

किसानले समस्या ल्याउन थालेपछि वडा कार्यालयले किसानको बारीमा पक्की खम्बा कार्यक्रम ल्याएको छ । व्यावसायिक रुपमा किबीखेती गर्ने किसानका लागि पक्की पोल अनुदानमा दिने कार्यक्रम रहेको वडाध्यक्ष कुलबहादुर विकले बताउनुभयो । वडाले अबका तीन वर्षमा तीन हजार पाँच सय किबीका बिरुवाले फल दिनथाल्ने बताएको छ ।

“हाम्रो योजनाअनुसार चालु आर्थिक वर्षमै एक सय ८५ पक्की खम्बा किसानलाई अनुदानमा उपलब्ध गराउने कार्यक्रम छ”, वडाध्यक्ष विकले भन्नुभयोे, “आवश्यकताअनुसार खम्बा उपलब्ध गराउँदै जान्छौँ ।” चिसो मौसम रहेको धम्जामा किबी र दाँते ओखर राम्रो फल्ने गरेको छ । किबी र ओखरलाई प्रोत्साहन गरेर किसानलाई व्यावसायिक खेतीमा लगाइने विकले बताउनुभयो । अहिले पनि यहाँका किसानले किबीको बिक्रीबाट समान्य घर खर्च चलाउन थालेका छन् ।

किबीको उत्पादन वृद्धिसँगै बजारीकरणको योजना वडासँग छ । फलको स्तरीकरण गर्ने, फुल फुल्ने बेलादेखि नै बोटमा स्तरीकरण गरेर दाना ठूलो फलाउने र प्रतिस्पर्धि बजारमा ल्याउने योजना वडाको छ । यहाँका किसानले अहिले फलिररहेको किबी भने स्थानीय बजारमै प्रतिकिलो रु तीनदेखि चार सयमा बिक्री गर्ने गरेका छन् ।
रासस

तपाईको प्रतिक्रिया