ढोरपाटन, ९ जेठ : एक दशक अगाडिसम्म दक्षिण बागलुङको कुश्मिेरा बजारमा स–साना ढुङ्गा, माटो र गाठेले बनेका घर थिए । बजारका एक/दुई ठाउँमा मात्रै सिमेन्टका पक्की भवन रहेकामा अहिले बजारको चारैतिर कक्रिटका ठूला–ठूला भवन ठडिएका छन् । कतिपय ठाउँमा धमाधम भवन निर्माण भइरहेका छन् ।
पहिले गाउँ कुश्मिसेरा अहिले बजारमा रुपान्तरण भएको छ । सडक सञ्जालको विस्तारसँगै यहाँ ठूलो परिवर्तन आएको छ । कुश्मिसेरा दक्षिण बागलुङको ठूलो व्यापारिक केन्द्र हो । एक दशक अगाडिसम्म कुश्मिसेरा बजारका व्यापारीलाई व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो । जब गाउँ–गाउँमा मोटरबाटो पुग्न थाले, तब कुश्मिसेरा बजारमा व्यापार घट्दै गयो ।
जैमिनी नगरपालिकाको केन्द्रसमेत रहेको कुश्मिसेरा विसंं २०६२ मै सडक सञ्जालले जोडिएको थियो । सडक सञ्जालले जोडिएको लामो समयपछि यातायातका साधन सञ्चालन भएको थियो । त्यसभन्दा पहिले पर्वतको कुश्मा बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य सामान बोकेरै उपभोग गर्दै आएका थिए । सडकले जोडिएको १८ वर्षपछि कुश्मिसेरामा परिवर्तन आएको होे ।
पहिले साँघुरा रहेका सडक फराकिला बन्दै छन् भने बजार क्षेत्रमा ढल व्यवस्थापनलगायत काम पनि भइरहेका छन् । बजार क्षेत्रका खाली जग्गामा पनि अहिले भवन निर्माण भइरहेका छन् । तीब्ररुपमा बजारीकरण हुन थालेपछि गाउँबाट पनि यहाँ बसाइँ सर्ने क्रम बढेको छ ।
नगरपालिका स्थापना भएपछि धेरै सेवा सुविधा पनि थपिँदै गएका छन् । गाउँ–गाउँमा पुग्ने सडकको मुख्य केन्द्र कुश्मिसेरा पर्ने हुँदा समय–समयमा निकै चहलपहलसमेत हुने गर्दछ । पछिल्लो १० वर्षमा कुश्मिसेरा धेरै बदलिएको स्थानीय क्याप्टेन पदमबहादुर श्रीसले बताउनुभयो । उहाँले पहिले यहाँ स–साना दोकान मात्रै रहेकामा अहिले ठूला–ठूला पसल र होटलसमेत खुलेका छन् भन्नुभयो।
पहिले कुश्मिेराको माथिल्लो क्षेत्रमा मात्रै सानो बजार रहेकामा अहिले तल्लो क्षेत्रमा पनि बजार विस्तार भइरहेको छ । डेढदशक अगाडिसम्म सदरमुकाम आउन जान निकै समस्या हुने गरेकामा अहिले साढे एक घण्टामै बागलुङ पुग्न सकिन्छ। केही वर्षयता यसक्षेत्रमा तीव्ररूपमा विकासले गति लिइरहेको र सडक, खानेपानी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि परिवर्तन हुँदै गएको क्याप्टेन श्रीसले बताउनुभयो ।
स्थानीयवासी देवेन्द्र चालिसेले बजार तीव्ररूपमा विस्तार भए पनि व्यापार खस्किँदै गएको बताउनुभयो । पहिले सडक कमजोर हुँदा ठूला गाडी नचल्ने गरेकामा अहिले ठूला–ठूला बस पनि बजार क्षेत्रबाट चल्ने गरेको र गाउँबाट दिनदिनै मान्छे बजार झर्न थालेकाले चपहलपहल बढिरहेको उहाँको भनाइ थियो ।
स्थानीय सरकार आएपछि बजार क्षेत्रमा ठूलो परिवर्तन भएको छ। पहिले खानेपानी अभाव हुने गरेको सडक अव्यवस्थित हुँदा स्थानीयवासीले समस्या भोग्नु परेकामा अहिले सबै समस्या समाधान हुँदै गएको छ ।
रासस






