खानीखोलाको जोड कफी खेतीमा

  जेठ ०५, २०८०

काभ्रे, ५ जेठ : खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि० महाभारत पर्वतशृङ्खला० मा अवस्थित स्थानीय तह हो । गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोला विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताउनहुन्छ । उहाँले भौतिक पूर्वाधारसँगै विशेष गरी शिक्षा र कृषि क्षेत्रमा जोड दिएको बताउनुभयो । “एक वर्षमा सामाजिक न्याय, सुशासन र विकासका थुप्रै काम भएका छन्”, थिङले भन्नुभयो ।

सो अवधिमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न मन्त्रिपरिषद्बाट जग्गा स्वीकृत गर्ने काम भएको छ । कक्षा १ देखि १० सम्मका असहाय बालबालिकाका लागि आवासिय शिक्षणको व्यवस्था गरिएको छ । ‘जसको उत्पादन ः उसैलाई अनुदान’ कार्यक्रममार्फत खानीखोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्दश्यले कफीमा प्रति किलो रु ३५ को दरले अनुदान दिइएको छ ।

“खानीखोलालाई सदरमुकाम तथा सङ्घीय राजधानीसँग जोड्न प्राथमिकताका साथ काम गरेका छौँ”, उहाँले भन्नुभयो । खानीखोला–३, ४ र ५ को वडा भवन निर्माण सम्पन्न गरी सेवा सुरु गरिएको छ । सुस्त गतिमा निर्माणाधीन बाग्मती खोलास्थित सिक्रेदोभानमा पक्की पुल निर्माण तीव्र पारिएको छ । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्यचौकी भवन निर्माण, यस शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत पहिलो पटक ११ विद्यालयमा मातृभाषा तामाङ भाषा शिक्षणको सुरुआत, सुकुम–धाप्ले महाँकालको सडकको ट्रयाक खोल्ने र संस्थागत खेलकुदको विकास गर्न प्रत्येक वर्ष सञ्चालन हुनेगरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’को सुरुआत गरिएको अध्यक्ष थिङले जानकारी दिनुभयो ।

यसैगरी गाउँपालिकाले एक वर्षको अवधिमा ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’ मार्फत ६० वर्ष नाघेका वृद्धवृद्धा तथा दीर्घरोगीको घर–घरमै गएर स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधिसमेत वितरण गरिएको छ । गाउँपालिकाले तामाङ समुदायको इतिहास, उत्पत्ति र ताम्बाको भूमिका विषयक ताम्बा÷डम्फु प्रतियोगिता, मगर समुदायको ‘वापा’ तालिम, आधारभूत मेलमिलापसँगै महिला सशक्तीकरण तथा रेबिज सङ्क्रमणको जोखिम कम गर्ने उद्देश्यले सामुदायिक कुकुरको बन्ध्याकरण समेत गराएको छ ।
रासस

तपाईको प्रतिक्रिया