ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

  जेठ ०४, २०८०

नवलपुर, ४ जेठ : उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पनि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोटका ८६ वर्षीय नारायणप्रसाद सापकोटा दङ्ग हुनुहुन्छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–८ कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य परीक्षणसहितको सेवा उपलब्ध गराएपछि उहाँ खुसी हुनुभएको हो ।

“उमेर ढल्किदै गएपछि हामीलाई यताउता हिँड्डुन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “यसरी वडा कार्यालयले टोलमै स्वास्थ्य सेवा दिन थालेपछि स्वास्थ्य परीक्षण गर्न र औषधि उपचारका लागि सहज भएको छ ।” गाउँमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि दिने गरेका सापकोटाले बताउनुभयो ।

गैँडाकोट–८ कालिका टोलकी ८१ वर्षीया राममाया कँडेल यसअघि उपचारका लागि चर्को घाममा हिँडेर स्वास्थ्यचौकी तथा अस्पताल पुग्ने गर्नुहुन्थ्यो । अहिले घरआँगनमै उपचार पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । “सामान्य उपचारका लागि हिँडेरै स्वास्थ्यचौकी वा अस्पताल पुग्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले घरमै स्वास्थ्य जाँचको सुविधा पाएका छौँ ।”

यसैगरी गैँडाकोट–८ की ७९ वर्षीया मनरुपा सापकोटाले कालिका मन्दिर कालिका आश्रममा पुगेर बुधबार स्वास्थ्य परीक्षण गराउनुभयो । उहाँलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराउनुभयो । “बल्ल स्थानीय सरकार रैछ भन्ने आभास भएको छ”, उहाँले भन्नुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको बताउनुभयो । उहाँले गैँडाकोट–८ मा सुरु भएको यो कार्यक्रम नगरका अन्य वडामा पु¥याउने गरी कार्यविधि निर्माण भइरहेको बताउनुभयो । ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउँदा अस्पताल पु¥याउन समस्या हुने भएकाले पालिकाले विशेषज्ञ चिकित्सकसहितको टोली घरमै पठाएर सेवा दिन थालेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया