एकीकृत बस्ती विकासमा सरकारको जोड : मन्त्री गुरुङ

  बैशाख १२, २०८०

गोरखा, १२ वैशाख : सङ्घीय सरकारका सहरी विकासमन्त्री सीता गुरुङले एकीकृत बस्ती निर्माणमा सरकारले विशेष जोड दिने बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले एकीकृत बस्ती विकासले विकास निर्माणलाई छिटो छरितो र प्रभावकारी रुपमा अघि बढाउन सक्ने भएकाले एकीकृत बस्ती विकासलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले २०७२ साल वैशाख १२ गतेको कहालीलाग्दो विनाशकारी भूकम्पले क्षतविक्षत भएका निजी आवास तथा भौतिक संरचना निर्माणको काम अझै केही बाँकी रहेको भन्दै त्यसलाई सम्पन गर्ने क्रममा सरकार रहेको उल्लेख गर्नुभयो ।

गोरखा भूकम्पमा परेर देशभरिबाट ज्यान गुमाएकाको स्मृतिमा बारपाकमा निर्माण भइरहेको भूकम्प स्मृति पार्कको काम अझै बाँकी रहेको उल्लेख गर्दै उहाँले स्मृति पार्क निर्माण गर्ने जिम्मेवार सहरी विकास मन्त्रालयकै रहेकाले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया