धौलागिरि अस्पतालका सेवा पुन : सञ्चालन

  बैशाख १०, २०८०

गलकोट, १० वैशाख : चिकित्सक अभावमा असर परेको धौलागिरि अस्पतालको प्रसूति विभाग दुई हप्तादेखि सक्रिय हुँदै आएको छ । स्त्रीरोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई प्रसूति रोग विशेषज्ञ चिकित्सक आएपछि सेवा सञ्चालन सहज भयो ।

चिकित्सक अभावमा सामान्य प्रसूति सेवाबाहेक अन्य सेवा हुन सकेको थिएन । अहिले अस्पतालमा जटिल प्रकारको शल्यक्रियामार्फत सुत्केरी गराउन थालिएको छ । त्यसैगरी तीन महिनापछि बालरोग विशेषज्ञ आएपछि उपचार गराउन सहज भएको छ । यसैगरी नाँक, कान र घाँटी रोग विभागबाहेकका सबै विभाग सम्बद्ध चिकित्सक आएपछि सक्रिय भएका छन् । एकै पटक ११ तहका तीन चिकित्सकसहित आठ विशेषज्ञ चिकित्सक थपिएको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सात छात्रावृत्तितर्फका विशेषशज्ञसमेत कार्यरत छन् । पचास श्ययाको अस्पतालले अहिले एक सय २६ श्यया बराबरको सुविधा दिइराखेको बताउँदै अधिकृत न्यूरेले अहिले नाँक, कान र घाँटीबाहेक सबै विभागमा विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् ।
“धौलागिरि अस्पतालले कोरोना फैलिएपछि पनि निकै राम्रो सेवा दिइराखेको थियो, चिकित्सक धेरै नै थिए, अस्पतालको क्षमताले नभ्याउने बिरामी मात्रै रिफर गरिन्थ्यो तर पछिल्लो तीन महिनाअघि दरबन्दीका चिकित्सक सरुवा भए, छात्रावृत्तिका चिकित्सक पनि एकैपटक गए, मेडिकल अधिकृतको करार सकिएपछि गण्डकी प्रदेशले नवीकरण गरेन”, अधिकृत न्यूरेले भन्नुभयो, “तीन महिनाअघिसम्म धेरै विभागमा विशेषज्ञ चिकित्सक अभावले समस्या ल्यायो, अत्यावश्यक विभागका रुपमा रहेको प्रसूति, आइसियु, सर्जरी, बालरोगलगायत सेवा समस्यामा परेका थिए, अहिले एक महिनाको अवधिमा १२ विशेषज्ञसहित मेडिकल अधिकृत थपिएका छन्, अस्पतालमा चिकित्सक थपिएपछि बिरामीलाई राहत भएको छ ।”

“अस्पतालले धेरै सेवा विस्तार गरे पनि विगत तीन महिना चिकित्सक घट्दा पुनः आलोचित बन्यो, अहिले एकै पटक १२ चिकित्सक थपिँदा नागरिकलाई राहत भएको छ”, स्थानीयवासी राम शर्माले भन्नुभयो, “अस्पतालले रिफरल सेन्टरको परिचय बदल्नका लागि अस्पताल प्रशासन, स्थानीय र सरोकारवाला लाग्नुपर्नेछ ।”

तेइस दरबन्दी रहेको उक्त अस्पतालमा दरबन्दीका आठ विशेषज्ञसहित छात्रावृत्ति र करारका गरी अहिले २५ चिकित्सक कार्यरत रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा रवि रञ्जन प्रधानले बताउनुभयो । तीन वर्षदेखि क्षमता बढाउँदै आएको उक्त अस्पताल हाल दुई सय श्ययामा स्तरवृद्धिको काम भइरहेका बेला झण्डै आधा चिकित्सक घट्दा सेवा सेवा प्रवाहमा असर परेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासी प्रधानले अब बागलुङमा सिटिस्क्यान र एमआरआईजस्ता ठूला उपकरणको सहायताले गरिने उपचारका लागि मात्रै अन्यत्र अस्पतालमा पठाउने गरी अस्पतालले दिने सेवामा व्यापक सुधार गरिरहेको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया