रुपन्देहीमा ७२ जना पत्रकारको आँखा स्वास्थ्य परीक्षण

  चैत १४, २०७९

लुम्बिनी, १४ चैत : नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसको अवसरमा आज रुपन्देहीका पत्रकारका लागि निःशुल्क आँखा जाँच गरिएको छ ।

नेत्र ज्योति सङ्घको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निःशुल्क आँखा जाँच गरिएको हो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकार डा बालकृष्ण चापागाईले पत्रकारको स्वास्थ्यलाई मध्यनजर गरी महासङ्घले आँखा शिविर राखेर राम्रो काम गरेको बताउनुभयो ।

कार्यक्रममा नेत्रज्योती सङ्घ रुपन्देहीका सभापति कमलराज जोशीले देशैभर पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने समझदारीअनुसार रुपन्देहीमा शिविर गरिएको बताउनुभयो ।

त्यस्तै लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान रणअम्बिका आँखा अस्पतालका निर्देशक प्रा डा ज्ञानेन्द्र लामिछानेले आँखामा समस्या आउँदा पनि रोग पालेर बस्ने बानी धेरैजसोमा रहेकाले त्यसो नगर्न सुझाव दिनुभयो ।

रुपन्देहीका पत्रकारका लागि आयोजना गरिएको निःशुल्क आँखा जाँचमा ७२ जनाले परीक्षण गराएका छन् । यसमध्ये ५८ जनालाई औषधि र १७ जनाको दृष्टिदोष देखिएकाले चस्मा वितरण गरिएको महासङ्घ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिनुभयो ।

शिविरमा नेत्रज्योति सङ्घ रणअम्बिका आँखा अस्पताल भैरहवाका वरिष्ठ नेत्र अधिकृत एवं कार्यक्रम संयोजक सञ्जिव अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी खटिएका थिए । रासस

तपाईको प्रतिक्रिया