दुर्गमका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन अझै सास्ती

  चैत १४, २०७९

ताप्लेजुङ, १४ चैत : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका वृखबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा चार घण्टा पैदल हिँड्नुपर्छ ।

बिहानको झिसमिसमै तातो पानी पिएर बेलुका घर फर्किने गरी गाउँपालिकाको केन्द्र तेल्लोक पुग्दा कहिले समयमै काम हुन्छ त कहिले अबेर हुन्छ । समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्नुहुन्छ । अबेर भए तेल्लोकमै बास बसेर भोलिपल्ट बिहान घर फर्किनुहुन्छ । हरेक तीन महिनामा यसरी धाएको लामो समय भयो । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँड्डुल गर्न कठिन हुँदै गए पनि भत्ता लिन आफैँ पुग्नुपर्ने उहाँको बाध्यता हो ।

यता सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६९ वर्षीय थरमान सार्की करिब चार घण्टा पैदल हिँडेर गाउँपालिकाको केन्द्र साब्लाखुमा भत्ता थाप्न पुग्ने गर्नुभएको छ । त्यहाँ लक्ष्मी बैंकको शाखा छ । बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने र गाडीमै जाँदा पनि उत्तिकै दुखाइ र थकान हुने उहाँले बताउनुभयो । “कहिले भनेको बेला गाडी पाउँदैन हिँडेरै पुग्छु, कहिले गाडी पाउँदा गाडीमै जान्छु, तर बूढो भइयो हिँड्दा पनि र गाडीमै चढ्दा पनि सहज छैन”, उहाँ भन्नुहुन्छ ।

यसरी घण्टौँ पैदल हिँडेर भत्ता लिने उहाँहरू मात्रै नभई दूरदराजका गाउँमा बसोबास गर्ने थुप्रै वृद्धवृद्धा छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन् । तर पहाडी जिल्लाका दुर्गम गाउँमा बसोबास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ ।

बुढेसकालमा लौरोको सहारामा घण्टौँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन् । “उमेरले डाँडा काटेपछि हिँड्डुल गर्न कठिन हुन्छ । बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने कर छ”, वृखबहादुर सार्कीले भन्नुभयो ।

आर्थिक अवस्था कमजोर बनेका वृद्धवृद्धाले शरीरको दुखाइ र थकानको महसुस नगरी हिँड्ने हिम्मत गरेको पाइन्छ । सवारी साधनमै ओहोरदोहोर गर्दा पनि वृद्ध शरीरलाई गाह्रो हुने गरेको उनीहरू बताउँछन् । कतिपय गाउँका हिँड्डुल गर्न नसक्ने अशक्त वृद्धवृद्धाको भत्ता वडाको सिफारिससहित आफन्तले पु¥याइदिन्छन् ।

केहीले संरक्षक राखेर पनि उनीहरूमार्फत भत्ता निकाल्ने गरेका छन् । तर प्रायजसोले संरक्षक राखेका छैनन् । भत्ता थापेर आफैँ खर्च गर्लान् भन्ने शङ्काले संरक्षक नराखेको हुन सक्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेका भुपाल मंरातीले बताउनुभयो । उहाँ वडा कार्यालयमा कार्यरत हुनुहुन्छ ।

यता आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका वडाध्यक्ष ललित राईले गाउँका अशक्त र बिरामी अवस्थाका वृद्धवृद्धाको चेक सङ्कलन गरेर भत्ता निकासा गरी घरमै लगिदिने गर्नुभएको छ । गाउँ कार्यपालिकाले वडाध्यक्षमार्फत घरमै लगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेपछि वडाध्यक्षले चेक सङ्कलन गरी भत्ता बाँड्ने गर्नुभएको हो ।

“बैंकसम्म पुग्न कठिन अवस्थाका वृद्धवृद्धालाई सहज होस् भनेर वडाध्यक्षमार्फत चेक सङ्कलन गरी सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय गरेर कार्यान्वयन भइरहेको छ”, गाउँपालिका अध्यक्ष दीपेन पोमुले भन्नुभयो ।

अन्य स्थानीय तहमा भने घरमै लगेर बाँड्ने योजना छैन । “अहिलेसम्म गाउँपालिकाको केन्द्रमा रहेको बैंकमै आएर सामाजिक सुरक्षा भत्ता लैजान्छन्, टाढाका मानिसलाई भने अप्ठ्यारो देखिएको छ, उनीहरूको सहजताका लागि विकल्प सोचिरहेका छौँ”, सिरीजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले भन्नुभयो ।

स्थानीय तह आउनुभन्दा अघि वडा सचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो । यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासीले बताएका छन् ।

जिल्लामा एक नगरपालिकासहित नौ स्थानीय तह रहेका छन् । धेरै जसो गाउँहरू भौगोलिकरूपमा विकट छन् । केही गाउँबाट आफ्नो गाउँपालिकाको केन्द्रमा पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने सर्वसाधारणलाई बाध्यता छ । सामाजिक सुरक्षा भत्ता लिन मात्रै नभई अन्य कामका लागि पनि स्थानीय तहका केन्द्रमा पुग्न सास्ती हुने गरेको पाइन्छ । रासस

तपाईको प्रतिक्रिया