कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलन जारी

  चैत १४, २०७९

मोरङ, १४ चैत : कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएकाहरु उग्र भएपछि प्रहरीले हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको छ ।

विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि स्थिती सामान्य तुल्याउन हवाई फायर र आश्रु ग्यास प्रहार गरेको पहरीले जनाएको छ ।

स्थितिलाई सामान्य बनाउन प्रहरीले १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । घटनामा छ जना प्रहरी घाइते भएको र आन्दोलनकारीको बारेमा जानकारी तत्काल प्राप्त नभएको प्रवक्ता दाहालले बताउनुभयो ।

सयौँको सङ्ख्यामा रहेका आन्दोलनकारीले नजिकैका चारतारे बिग होटेलको कफी हाउसको सिसा पनि फुटाएका थिए । प्रहरीले शान्तपूर्वक आन्दोलनकारीलाई सम्झाउँदा पनि अटेर गरेको र सीमाभन्दा बाहिर जान थालेपछि पहिलोपटक पानीको फोहोरा प्रयोग गरेको थियो ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विराटनगर रोडशेष नजिक आयोजित विरोध ¥याली निकालेको थियो । यसैगरी आन्दोलनकारीले पथरी र बेलबारी क्षेत्रमा पनि प्रदर्शन गरेका थिए । रासस

तपाईको प्रतिक्रिया