विराटनगर , १४ चैत : प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरमा २० भन्दा बढी घाइते भएका छन् ।
मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।
पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु विराटनगरको होटल बिगमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी पाएपछि घेर्नका लागि विराटनगर आएका थिए । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १५ जना घाइते भएका छन् । आन्दोलनरत पक्षका ९ जना घाइते भएका थिए ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेको नाम कोशी प्रदेश राखेको थियो । पहिचान पक्षधरले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेर पहिचानका आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको १० चैतमा मृत्यु भएको थियो ।






