खुकुरी प्रहार गरी वृद्धको हत्या

  चैत १४, २०७९

रामेछाप, १४ चैत : रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो ।

खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो ।

श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडाँै गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको उहाँले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया