‘सामना जनसङ्गीत अभियान’

  चैत १४, २०७९

गण्डकी, १४ चैत: गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ ।

मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । अभियानको नेतृत्व सामनाका अध्यक्ष आरोहले गरिरहनुभएको छ ।

कला र गीत–सङ्गीतकामार्फत जनतालाई जागरुक र सुसूचित गर्न अभियान थालिएको सामनाका अध्यक्ष आरोहले बताउनुभयो । “अभियानका क्रममा जनवादी गीत, नृत्य, नाटकलगायत प्रस्तुति दिँदै हिँडिरहेका छौँ”, उहाँले भन्नुभयो, “यही चैत अन्तितममा बाजुरा पुगेर साङ्गीतिक यात्रा टुङ्गिन्छ ।”

जाजरकोट, सुर्खेत हुँदै अभियानमा सूदुरपश्चिमका पहाडी जिल्लामा पुग्नेछ । कार्यक्रम व्यवस्थापनमा स्थानीय पार्टी समिति र शुभेच्छुकहरूबाट सहयोग प्राप्त भइरहेको नेकपाले जनाएको छ । नेकपाका केन्द्रीय सदस्य एवं धवलागिरि इन्चार्ज विकिरण क्षेत्रीले साङ्गीतिक अभियानमा पार्टीको विचार सम्प्रेषणलाई पनि सँगसँगै जोडिएको बताउनुभयो ।

“कलाकारको प्रस्तुति सँगसँगै नेतृत्वबाट वैज्ञानिक समाजवादबारे पार्टीको नीति र दृष्टिकोण राख्ने काम हुन्छ”, उहाँले भन्नुभयो, “जनताको उपस्थिति र साथले हामी उत्साहित नै छौँ, यस किसिमको अभियानले पार्टीलाई तलसम्म स्थापित गर्न सघाउँछ ।”

उहाँले मध्यपहाडी लोकमार्गलाई आधार मानेर त्यस आसपासका जिल्लामा पहिलो चरणको साङ्गीतिक अभियान चलाइएको बताउनुभयो । पश्चिमको यात्रा सकिएपछि दोस्रो चरणमा पूर्वी नेपालका पहाडी जिल्लामा जनसङ्गीत अभियान सुरु हुने उहाँको भनाइ छ । नेकपाका केन्द्रीय सदस्य क्षेत्रीले मुलुकको आमूल परिवर्तनका लागि एकीकृत जनक्रान्तिको आवश्यकता औँल्याउनुभयो । रासस

तपाईको प्रतिक्रिया