काभ्रेका सञ्चाकर्मीलाई उपचार तथा प्रशिक्षण कार्यक्रम

  चैत १३, २०७९

धुलिखेल, १३ चैत : नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको समन्वय र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको सहयोगमा जिल्लास्थित सञ्चारकर्मीको निःशुल्क आँखा उपचार तथा आँखा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पत्रकार महासङ्घको ६८औँ स्थापना दिवस तथा ४५औँ नेत्र ज्योति दिवसको अवसर पारेर सञ्चारकर्मी र पत्रकारिताको माध्यमबाट आँखा स्वास्थ्यका बारेमा सचेतना अभिवृद्धि गरी अन्धोपन न्यूनीकरण गरी सञ्चालन गरिएको रयुकाई एईको आँखा अस्पतालका कार्यकारी निर्देशक हिरामणि शर्माले बताउनुभयो ।

सञ्चारकर्मीलाई अभिमुखीकरण गर्दा मुलुकमा देखिएका आँखासम्बन्धी समस्याको पहिचान र सचेतना अभिवृद्धि भई आँखा स्वास्थ्यमा सुधार आउने विश्वास अस्पतालले लिएको शर्माले बताउनुभयो । अस्पतालका अध्यक्ष मधु आचार्यले कुनै पनि उद्देश्य प्राप्तिका लागि ‘भिजन’ को प्रमुख महत्त्व भए जस्तै मानव जीवन सहज र सरल बनाउन आँखाको ‘भिजन’ सही हुन अत्यावश्यक रहेको बताउनुभयो ।

राज्यसँग बलियो स्वास्थ्य नीति र आँखा स्वास्थ्य मापदण्ड नभएका कारण आजसम्म पनि आँखा स्वास्थ्य उपचारका लागि सरकारी अस्पताल नभएको आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्म्रेन्द्र झाले आँखा भए जगत् रहने आँखा नभए जगतै नहने भन्दै आँखा स्वास्थ्य प्रवर्द्धन र रोग निवारणका लागि सजग रहनुपर्ने बताउनुभयो । आँखा शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएको बताउँदै उहाँले सञ्चारकर्मीले आफूले आधारभूत ज्ञान लिएर जनमानसमा उजागर गर्न आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले रेयुकाई एईको मासुनागा आँखा अस्पताल जनसेवामा समर्पित रहेकोमा प्रसंशा गर्नुभयो । उहाँले अस्पतालको आगामी योजनामा प्रशासन संयन्त्रका तर्फबाट यथाशक्य सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो । करिब २५ सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा विमल पौडेलले प्रशिक्षण गर्नुभएको थियो । रासस

तपाईको प्रतिक्रिया