आर्मी ‘बी’ लाई उपाधि

  चैत १३, २०७९

काठमाडौँ, १३ चैत : नेपाल आर्मीको ‘बी’ टोलीले थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा आर्मी ‘बी’ले आफ्नै आर्मी ‘ए’ टोलीलाई २१–१७ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता टोलीबाट रबिन खत्री, अजय कुश्वाहा, निकेश रखाल मगर र सुदीप पौडेलले खेलेका थिए ।

त्यस्तै, आर्मी ‘ए’ बाट विनोद महर्जन, आयुश सिंह, निश्चल महर्जन र अमृत कोइरालाले प्रतिस्पर्धा गरेका थिए । विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार पुरस्कार प्राप्त गरे ।

ललितपुर जिल्ला बास्केटबल सङ्घद्वारा आयोजित प्रतियोगितामा विजेताका रबिन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङ, प्लाटिनम क्लबका मिलन कार्की र आयोजक ललितपुर जिल्ला बास्केटबल सङ्घका महासचिव शरद् विष्टले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा विभिन्न २४ टोलीले ‘लिग कम नकआउट’ आधारमा प्रतिस्पर्धा गरेका थिए । रासस

तपाईको प्रतिक्रिया