‘फाष्ट ट्र्याक र खप्तड विकास हाम्रो पहिलो प्राथमिकता’

  चैत १३, २०७९

डोटी, १३ चैत : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले खुटिया दिपायल फास्ट ट्र्याक, बोगटान सडक र खप्तड क्षेत्रको विकास गर्नु आफ्नो प्रमुख प्राथमिकताको क्षेत्र रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस डोटीले दिपायलमा आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले खुटिया दिपायल फास्ट ट्र्याक, बोगटान सडक र खप्तड क्षेत्रको विकास गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो । प्रदेश सरकारका गौरवका योजनालाई प्राथमिकता दिने उहाँको भनाइ थियो ।

आफू जनताको काम गर्न मुख्यमन्त्री पदमा नियुक्त भएकाले प्रदेश सरकार स्थानीय सरकारसँग सहकार्य गरी एकद्वार प्रणालीमार्फत स्रोत साधनको पूर्ण सदुपयोग गरी जनताको शिर निहुराउन नदिने उहाँले भन्नुभयो ।

मुख्यमन्त्री शाहले आजै शिखर नगरपालिका–११ मा रहेको नदी कटान क्षेत्रको अवलोकन गर्नुभयो । मुख्यमन्त्री शाहसँगै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवासमेत पहाडी जिल्लाको भ्रमणमा डोटी पुग्नुभएको थियो । रासस

तपाईको प्रतिक्रिया