सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

  चैत १३, २०७९

काठमाडौं , १३ चैत : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको छ।

काठमाडौँ जिल्ला अदालतमा सोमबारका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित गरेको हो।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो।

यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।

सन्दीपको अर्को पेशी आगामी साताको सोमबारका लागि तोकिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

लामिछानेलाई पाटन उच्च अदालतले विदेशमा जान रोक लगाएको थियो। जसविरुद्धमा सर्वोच्चमा पुगेका लामिछानेलाई सर्वोच्च अदालतले विदेश जानका लागि स्वीकृत प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया