बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

  चैत १०, २०७९

डुम्रे, १० चैत : तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी कार्यान्वयन चरणको प्रारम्भ गर्नुभएको हो । बैरेनी क्षेत्रको करिब एक हजार पाँच सय रोपनी क्षेत्रफललाई लक्षित गरी आयोजना अघि बढाइए पनि प्रथम चरणमा करिब दुई सय ६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गरिनेछ ।

आयोजनाको मस्यौदा नेपाल सरकारबाट स्वीकृत गराई २०७८ फागुन २ गते राजपत्रमा प्रकाशित भइसकेको छ । व्यास नगरपालिका उपभोक्ताको लगानी र नगर विकास कोषको ऋण सहयोगमा आयोजना सम्पन्न गरिने नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । आयोजनाले बैरेनीवासीको अवस्थामा परिवर्तन ल्याउने उहाँको भनाइ छ । “आयोजनाले बैरेनीवासीलाई समृद्ध बताउँछ, आर्थिकरुपमा सबल बनाउँछ”, न्यौपानेले भन्नुभयो ।

दमौली बजारमा बसोबासका लागि ठाउँ अभाव भन्दै नगर प्रमुख न्यौपानेले अबको गन्तव्य बैरेनी बन्ने बताउनुभयो । “यसले व्यवस्थित सहरको रुप लिनेछ”, उहाँले भन्नुभयो, “सबै एकताबद्ध भएर सहकार्य र हातेमालो गरी आयोजना सफल बनाऔँ ।”

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आयोजनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास व्यक्तगर्नुभयो । भूकम्प प्रविधि राष्ट्रिय समाजका अध्यक्ष डा आमोदमणि दीक्षित र विज्ञ सूर्यभक्त सांघाक्षेले आयोजना बैरेनीवासीको हीतमा हुने बताउनुभयो ।

आयोजनाअन्तर्गत प्रथम चरणमा दुई सय ६१ रोपनी क्षेत्रफल समेट्ने एकाइ प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्र मूलले जानकारी दिनुभयो । प्रथम चरणमा दुई सय ५० उपभोक्ता लाभान्वित हुनेछन् । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा रिटेनिङ वाल निर्माण गरिनेछ । उक्त कार्यका लागि रु ८५ लाख तथा दोस्रो चरणमा बाटो, ढल, कलभर्ट तथा अन्य संरचना निर्माणका लागि रु १२ करोड १५ लाख विनीयोजन गरिएको एकाइ प्रमुख मुलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया