खप्तड गोल्डकपमा बागमती युवा क्लबको विजयी सुरुआत

  चैत ०९, २०७९

सुदूरपश्चिम, चैत ९ : धनगढीमा आज सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ । बागमतीले विभागीय टोली एपिएफलाई १–० गोलले पराजित गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताउनुभयो । चैत १८ गतेसम्म हुने प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोट्स क्लबसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन् ।

समारोहमा एक सयपटक रक्तदान गरेर उत्कृष्ट सामाजिक काम गरेवापत धनगढीका पत्रकार दीपकप्रसाद उपाध्याय र कञ्चनपुर पुनर्वासका फुटबल खेलाडी फिलिप तामाङलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री शाहलाई आयोजकले प्रतियोगितालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न बजेट व्यवस्थापन मागसहितको ज्ञापनपत्र पेस गरेको थियो ।

प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेतालाई रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान आफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ । धनगढी रङ्गशालमा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।

तपाईको प्रतिक्रिया