सातौँ संकरणको विराट गोल्डकप आजदेखि

  चैत ०९, २०७९

सुन्दरहरैँचा, ९ चैत : सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुनेभएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलुु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिड्दैछन् ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी गरी आठ वटा टोलीले सहभागिता जनाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिनुभयो ।

गोल्डकपको विजेता टिमले रु २० लाख १५ हजार तथा उपविजेता टोलीले रु १० लाख २५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरी तथा सङ्कटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी एफसीको सहभागिता रहने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिनुभयो ।

यसपटकको विराट गोल्डकपमा विधागत खेलाडीलाई जनही रु २५ हजार तथा प्लेयर अफ द म्याचलाई रु ११ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

तत्कालीन राजा महेन्द्रका नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आएको हो । पञ्चायतकालमा २७ पटक र बहुदल आएपछि विराट गोल्डकपका नामबाट सातौँ प्रतियोगिता हुन लागेको हो ।

पूर्वमा नेपाली फुटबलको सानका रूपमा रहेको विराट गोल्डकप प्रतियोगितामा सहभागी हुन दर्शकका लागि टिकट खरिद खुला गरिएको आयोजकले बताएको छ । टिकेटिङका लागि पार्टनर खल्ती एपसँग सम्झौता भएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया