गण्डकी, ७ चैत : लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन ।
पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट नहुँदा कभर्ड हलको काम रोकिएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट यतिबेला बजेट ल्याउन पहल भइरहेको अध्यक्ष खड्काले बताउनुभयो । अहिलेसम्म कभर्ड हलमा रू एक करोड १० लाख खर्च भइसकेको उहाँको भनाइ छ । आव २०७४÷७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रू ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो ।
त्यसयता राष्ट्रिय खेलकुद परिष्दको रू ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको रू २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रू २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट कभर्ड हलमा भूइँतलाको पिलर र गारो लगाउने काम भएको छ ।
“सबै संरचना तयार गर्न अझै रू तीन करोड लाग्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै इन्डोर खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।” कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौँडा हुनेछ । सुरुमा रू तीन करोडको बजेट अनुमान गरिए पनि महँगीका कारण अब लागत पनि बढ्ने देखिएको छ । नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिनुभएको थियो ।
प्रदेश सरकारका प्रतिनिधिले पनि पटक–पटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् । तर बजेटकै कारण महत्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ । “जुन उद्देश्यले कभर्ड हलको योजना सुरु गरेका थियौँ, सोअनुसार काम नहुँदा हामी पनि दुःखी छौँ”, अध्यक्ष खडकाल भन्नुभयो, “अहिलेसम्मको लगानीलाई यसै खेर जान दिँदैनाँै, सरकारसँग हारगुहार गरेर भएपनि कभर्ड हल बनाउँछौँ ।”
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो । “कोभिड–१९ महामारी जस्ता कारणले पनि खेल पूर्वाधारमा बजेट कटौती भयो, अब बजेट र स्रोतसाधन जुटाएर कभर्ड हललाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्छ, पूर्वाधार नै नभए खेलकुद क्षेत्र अगाडि बढ्न सक्दैन ।”
लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने कार्यालय प्रमुख योगीले बताउनुभयो । “खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपयुक्त ठाउँमा छ, संरचना बनाउन सके पोखराको वैकल्पिक रङ्गशाला बन्छ”, उहाँले भन्नुभयो ।






