क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार

  चैत ०६, २०७९

दमौली, ६ चैत : पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ ।

तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ । तनहुँका केही खेलाडीले जिल्लास्तर हुँदै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा प्रधानमन्त्री क्रिकेट कप खेलिसकेका छन् । क्रिकेटखेलतर्फ आकर्षण बढेपनि जिल्लामा क्रिकेटको पूर्वाधार नहुँदा खेलाडी निराश छन् ।

तनहुँ क्रिकेटका कप्तान चन्द्रकान्त पौडेल भन्नुहुन्छ, “क्रिकेटमा खेलाडीको बढ्दो आकर्षण भए पनि क्रिकेट खेल्नका लागि मैदान छैन । यो दुःखद् पक्ष हो ।” पूर्वाधार अभावकै कारण कतिपय खेलाडीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाएको पौडेलको गुनासो छ । “तनहुँ जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान छैन, सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो, “हामीले कहिलेकाहीँ प्रतियोगिता गर्दा अहिले जस्तो मैदान छ त्यस्तैमा गरिरहनुपरेको छ ।”

दमौली पेलिकन्स क्लबले बेलाबेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ । खेल मैदानकै अभावमा क्लबले व्यास नगरपालिका–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ ।

“क्रिकेटमा राम्रो सम्भावना छ, तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ”, पौडेलले भन्नुभयो । तनहुँका क्रिकेट खेलाडी समीर कँडेलले खेल्ने वातावरण भए आफूहरुले राम्रो खेल्न सक्ने बताउनुभयो । “पूर्वाधारको अभावमा पनि तनहुँ क्रिकेटमा अगाडि बढ्दैछ, पूर्वाधार निर्माण गरिदिए हामी राम्रो खेल्न सक्छाँै,” कँडेलले भन्नुभयो, “पूर्वाधार निर्माणमा सरोकारवालाले ध्यान पु¥याइदिए हुन्थ्यो ।”

क्रिकेट खेलमा तनहुँले पछिल्लो समय प्रगति हासिल गर्न थालेको छ । तनहुँले हालसम्म दुई पटक उपाधि जितेको छ भने एक पटक उपविजेता भएको छ । यस वर्षको सुरुमा तनहुँले बागलुङमा सम्पन्न प्रतियोगितामा विजेता बन्दै रु एक लाख नगद जित्न सफल भएको थियो । त्यस्तै, प्रधानमन्त्री कप क्रिकेट छनोटमा तनहुँ गण्डकी प्रदेशको विजेता बनेको थियो । साथै, केही हप्ता अगाडि गैँडाकोटमा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगितामा तनहुँ उपविजेता बन्न सफल भयो । पछिल्लो नौ खेलमा अपराजित रहेको तनहुँले गैँडाकोटमा भएको मेयर कपको फाइनलमा चितवनसँग मात्रै हार बेहोरेको थियो ।

यसअघि तनहुँले बागलुङलाई दुई, कास्कीलाई एक, नवलपुरलाई दुई, स्याङ्जालाई दुई, पर्वतलाई एक पटक पराजित गरिसकेको छ । तनहुँमा क्रिकेटतर्फ आकर्षण बढेपनि पूर्वाधार अभावका कारण खेलाडीमा निराशा उत्पन्न हुनु स्वभाविक ठान्नुहुन्छ क्रिकेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठ । तनहुँमा व्यवस्थित क्रिकेट मैदान निर्माण गर्नेतर्फ क्यानले सोचेको श्रेष्ठ बताउँनुहुन्छ ।

“क्रिकेटतर्फ निकै आकर्षण छ, क्रिकेटले नै नेपालको नाम राख्न सफल भएको छ”, श्रेष्ठले भन्नुभयो, “तनहुँमा क्रिकेट मैदान नभएर ठूलो समस्या परिरहेको छ ।” क्रिकेटको विकासका लागि क्यान तनहुँ लागिपरे पनि मैदानकै कारण सोचेजति विकास हुननसकेको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया