स्वास्थ्य जोखिममा पारेर गर्भपतन

  चैत ०३, २०७९

ढोरपाटन, ३ चैत : अहिले बजारका औषधि पसलमा गर्भपतन गराउने औषधि छ्याप्छ्प्ती पाइन्छन् । कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो । तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन् ।

पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । बागलुङमा गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा पाँच सय ७६ जनाले गर्भपतन गराएका थिए । बीस वर्षमुनिका छ जना छन् भने त्यसभन्दा माथिका पाँच सय ७० छन् । आव २०७७÷७८ मा छ सय ९८ जनाले गर्भपतन गराएका थिए । चार जना २० वर्षमुनिका छन् । आव २०७८÷७९ मा छ सय ९१ जनाले गर्भपतन गराएको तथ्याङ्क छ । तीन जना २० वर्षमुनिका छन् ।

चालु आवको आठ महिनामा २० वर्षमुनिका एकसहित चार सय ८१ जनाले गर्भपतन गराएका छन् । अवैध सम्बन्ध राखेकाले नै बढीजसो गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी क्लिनिकमा गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक छ । ढोरपाटन नगरपालिका–१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चालु आवको हालसम्म एक सय ८६ जनाले गर्भपतन गराएका छन् ।

स्वास्थ्य केन्द्रका कप्रमुख डा निरज सुवेदी अविवाहित र बैबाहिक जीवनमा खटपट भएकाहरु बढीजसो गर्भपतन गराउन आउने गरेको बताउनुहुन्छ । महिला–पुरुष दुवैले यौन सम्पर्कका बेला स्थायी तथा अस्थायी साधान प्रयोग नगर्दा यस्तो समस्या बढेको उहाँको भनाइ छ । “उमेर पुगेका महिलादेखि किशोरी पनि गर्भपतन गराउन आउनुहुन्छ”, डा सुवेदीले भन्नुभयो, “यो तथ्याङ्क अस्पतालमा आएर सुरक्षितरूपमा गर्भपतन गराएकाहरूको हो, यसबाहेक बाहिर असुरक्षित गर्भपतन गराउने पनि छन्, लाज र डरले गर्दा उनीहरू अस्पताल आउँदैनन् ।”

गलकोट नगर अस्पतालमा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी रहेको पाइएको छ । नगर अस्पतालका प्रमुख डा राजेश पौडेलका अनुसार आव २०७८÷७९ मा ४० जनाले गर्भपतन गराएकामा चालु आवको हालसम्म ५० जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन् । बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल पछिल्लो समय दुईभन्दा बढी सन्तान जन्माउन छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढेको बताउनुहुन्छ । स्वास्थ्य संस्थामा सुरक्षितरूपमा गर्भपतन हुन्छ भन्ने महिलाको चेतना वृद्धि भएपछि वार्षिकरूपमा केही सङ्ख्या बढ्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

प्रमुख खनाल भन्नुहुन्छ, “अहिले धेरै बच्चा जन्माउन चाहँदैनन्, छोराको चाहाना धेरैले राख्छन्, छोरी–छोरी भए भने पनि उनीहरूले छोराका लागि प्रयास गर्ने र फेरि छोरी हुने देखिएपछि गर्भपतन गराउने गरेको पाइन्छ ।” धवलागिरि अस्पतालमा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी छ । अघिल्लो आवमा तीन सय ४५ जनाले गर्भपतन गराएका थिए । त्यसमध्ये ४८ महिलाको जटिल किसिमले गर्भपतन गराएको अस्पतालका सूचना अधिकारी अञ्जना पौडलले बताउनुभयो । चालु आवको हालसम्म दुई सय ६० महिलाले गर्भपतन गराएको उहाँको भनाइ छ । त्यसमध्ये १५ जनाको जटिल किसिमले गर्भपतन भएको पौडेलले बताउनुभयो ।

बजारमा केही स्वास्थ्य संस्थाले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि बेच्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा ठूलो असर गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । कतिपय महिलाले पटक–पटक गर्भपतन गराउनेसमेत गरेका छन् । यसले स्वास्थ्यमा असर पु¥याउनुका साथै अर्को पटक बच्चा नबस्ने जोखिम हुने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सुवेदी बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया