हाफ म्याराथनका विजेताले रू एक लाख पाउने

  फागुन २२, २०७९

ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवसको अवसरमा यही फागुन २७ शनिबार हाफ म्याराथन र अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

नगरप्रमुख गजेन्द्र महर्जनले २१ किमी खुला च्याम्पियन हाफ म्याराथन र १० किमी अन्तरविद्यालय दौड प्रतियोगिता हुने जानकारी दिनुभयो । कुल २१ किमी खुला च्याम्पियन हाफ म्याराथनमा प्रथम हुनेले रू एक लाख पुरस्कार हात पार्नेछन् । त्यस्तै दोस्रो हुनेले रू ७५ हजार, तेस्रो हुनेले रू ५० हजार प्राप्त गर्नेछन् । साथै, चौथो हुनेले रू ३० हजार, पाँचौँ हुनेले रू २५ हजार, छैटौँले रू १५ हजार, सातौँले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

हाफ म्याराथन गोदावरी नगरपालिकाबाट सुरु भइ झरुवारासी पोखरीचौर(बडिखेल चोक(टौखेल चोक(गोदावरी बसपार्क(विशङ्खुनारायण( वडा नं २ कार्यालय(बाँडेगाउँ प्रहरी प्रभाग(भट्टराई आश्रम( वडा नं १३ कार्यालय(भलि पुचः पार्टी प्यालेस(ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकी हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ ।

त्यस्तै १० किमी अन्तरविद्यालय दौड प्रतियोगितामा प्रथम हुनेले नगर रू ३५ हजार पुरस्कार हात पार्नेछन् । त्यस्तै दोस्रोले रू ३० हजार, तेस्रोले रू २५ हजार, चौथोले रू २० हजार, पाँचौँले रू १५ हजार, छैटौँले रू १० हजार, सातौँले रू पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । अन्तरविद्यालय दौड प्रतियोगिता गोदावरी नगरपालिकाबाट सुरु भएर बडिखेल चोक(टौखेल चोक(भट्टराई आश्रम(वडा नं १३ कार्यालय(भलि पुचः पार्टी प्यालेस(ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकीबाट चापागाउँ ट्याक्सी पार्क हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ ।

हाफ म्याराथन प्रतियोगितामा भाग लिन चाहानेले रु सात सय र अन्तरविद्यालय दौड प्रतियोगितामा भाग लिन चाहानेले पाँच सय दर्ता शुल्क तिरेर यही फागुन २२ गतेसम्म नगरपालिकाको प्रशासन शाखामा दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया