शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल

  फागुन २१, २०७९

काठमाडौँ,फागुन २१ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबातोस्थित च्यासल रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । यता एनआरटीका लागि भने निकोलस सङले एक गोल फर्काए । खेलको ४५औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको पहिलो हाफको इन्जुरी समयमा एनआरटीका निकोलसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४औँ मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए ।

यस जितसँगै सातदोबाटोले पहिलो खेलमै ३ अङ्क जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन् । यस बराबरीमा सँगै दुवै टोलीले पहिलो खेलमा १–१ अङ्क बाँडेका छन् ।

नेपाललाई दुई स्वर्ण

तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले २ स्वर्ण र २ रजत पदक जितेको छ । श्रीलङ्काको रतनापुरा इन्डोर स्टेडियममा भएको उक्त प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी थिए । नेपालका लागि नौ वर्ष उमेर समूहमा संयम कँडेल तथा ७५ केजीमा कमरुद्दीन अलीले स्वर्ण पदक जिते ।

पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सीमित भए । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासहित पाँच राष्ट्रको सहभागिता रहेको थियो ।

नेपाली कराते टोलीको नेतृत्व नेपाल कराते महासङ्घ महासचिव एवं दक्षिण एसियाली वादोरियो कराते महासङ्घका अध्यक्ष हरिशरण केसीले गर्नुभएको थियोे ।

तपाईको प्रतिक्रिया