बुढासुब्बा गोल्डकप : आयोजक टोली युकेएफसी भारतसँग पराजित

  फागुन १३, २०७९

धरान,फागुन १३ : धरानमा आजदेखि सुरु भएको अन्तर्राष्टिय आमन्त्रित २३औँ संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।

खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुँदै धरान फुटबल क्लब प्रतियोगिताबाटै बाहिरिएको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीको गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । धरानले दुई सुट ‘मिस’ गर्दा खेलबाट बाहिरिएको हो ।

युकेएफसी भारतका सिध्वनी क्षेत्री, सुप्रियो सुरेन, साइल राई, आकाश प्रधान र राज राउतले पेनाल्टी सुट गरेका थिए । धरानका दोर्जे शेर्पा, मदन राई र रोहन मास्कले गोल गरे ।

एक्काइसौँ संस्करणमा फाइलनमा पुगेको आयोजक टोलीले हालसम्म प्रतियोगिता जित्न सकेको छैन ।

आइतबारको दोस्रो क्वार्टरफाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकका प्रमुख हर्क साङपाङ राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया