‘जेनेरेसन होप’ मा जोडिदै स्कुले छात्रछात्रा

  फागुन १३, २०७९

महोत्तरी,फागुन १३ : बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयकी ८ कक्षाकी छात्रा स्वस्तिका खपाङ्गी अचेल केही पहिले विद्यालय आइपुग्छिन् ।

विद्यालय परिसरमा देखिने झुत्राझाम्रा फोहरका टुक्रा उठाएर ‘डस्विन’ (फोहर राख्ने बाल्टिन)मा राख्नु उनको दैनिकीजस्तै बनेको छ । पछिल्लो पुस्तालाई भविष्यप्रति आशा जगाउने उद्देश्यसाथ सुरु गरिएको ‘जेनेरेसन होप’ मा आबद्ध भएदेखि नै खपाङ्गीको विद्यालय दिनचर्यामा यो काम परेको हो ।

“मैले जब थाहा पाएँ, हाम्रो पृथ्वी फोहर र विषाक्त ग्यास (कार्बन)ले प्रदूषित हुँदैछ, अनि सधैँ विद्यालय केहीबेर अगाडि आएर सरसफाइमा लाग्छु”, खपाङ्गीले भनिन्, “अब त थुप्रै साथी विद्यालय परिसर सरसफाइमा सरिक हुन थालेका छौँ ।” आपूmहरूलाई सामुदायिक परिवार कल्याण सङ्घका स्वयंसेवीले ‘जेनेरेसन होप’ मा जोडिन प्रेरित गरेका खपाङ्गीसहितका विद्यार्थीले बताएका छन् ।

खपाङ्गीजस्तै सोही विद्यालयका छात्रा दिपीका विक, आयशा खातुन र खुसी परियारले पनि अब आफ्नो घर र विद्यालय वरपर फोहर फैलन नदिन नित्य सरसफाइको तालिका नै बनाइएको बताउँछन् ।

“हामीलाई ‘जेनेरेसन होप’ अभियान सञ्चालन गर्ने सर÷म्यामले रुखबिरुवा रोप्न, जोगाउन, वरपर सरसफाइ राख्न र यो अभियानबारे घरमा बाबाआमालाई पनि बताउन भन्नुभएको छ”, विद्यालय परिसरमा प्लाष्टिकजन्य फोहर बटुलेर खाल्डामा पुर्दै गरेकी आयशाले भनिन्, “यसले हामीलाई स्वस्थ्य राख्न र पृथ्वीमाथि आकाशमा फैलँदो कार्बन घटाउन हाम्रो सहयोग जोडिन्छ ।”

सेभ द चिल्ड्रेनसँग साझेदारी गर्दै जलवायु परिवर्तनका असर, रुखबिरुवाको महत्व र आन्तरिक तथा आफ्नो परिवेश सरसफाइबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक परिवार कल्याण सङ्घले सञ्चालन गरेको ‘जेनेरेसन होप’ अभियानमा आफ्नो विद्यालयका तीन सयभन्दा बढी छात्रछात्रा आबद्ध भएका देउराली माध्यमिक विद्यालय बर्दिबास–१ का प्रधानाध्यापक इन्द्रराज लामा बताउनुहुन्छ ।

“अभियानमा हाम्रा छात्रछात्राको दिनदिनै सङ्ख्या थपिँदो छ”, लामाले भन्नुभयो । यो अभियानले छात्र–छात्रामा म, मेरोमात्र नभई हाम्रो भन्ने सामूहिक भावना विकासमा सहयोग पुगेको लामाको भनाइ छ ।

सानै उमेरदेखि जलवायु परिवर्तनले मानवमात्र नभएर सम्पूर्ण प्राणी जगत्लाई नै प्रभावित गराइरहेकाले व्यक्तिव्यक्तिको भूमिका जोड्ने आपूmहरुले प्रयत्न थालेको ‘जेनेरेसन होप’ अभियानका संयोजक स्प्रिहा श्रेष्ठको भनाइ छ । सामाजिक सङ्घसंस्थाको साझेदारीमा थालिएको यो अभियानमा मधेस प्रदेशका महोत्तरी, सर्लाही, सप्तरी र धनुषा परेका छन् ।

महोत्तरीकै भने गौशाला, बर्दिबास, भङ्गाहा, औरही र लोहारपट्टिसहितका पाँच नगरपालिका समेटिएका सामुदायिक कल्याण परिवार सङ्घका सामाजिक मनोविशेषज्ञ जुनु सुनार बताउनुहुन्छ ।

मधेस, बागमती र कर्णाली प्रदेशमा गरी ‘जेनेरेसन होप’ अभियानमा १६ हजार बालबालिका ९१८ वर्षमुनिका० आबद्ध भइसकेका अभियानकर्मी लक्षेन्द्र महर्जनको भनाइ छ ।

अभियानले गीत–सङ्गीत, खेल, साहित्यिक गतिविधि र संवादका माध्यमले सचेतना फैलाउने गरेको छ । यस्ता गतिविधिसँग चाँडै बालबालिका जोडिने र कुरा बुझ्न सजिलो भएको सामुदायिक परिवार कल्याण सङ्घका लक्ष्मेश्वर मण्डल बताउनुहुन्छ ।

अभियानले नयाँ पुस्ताका बालबालिकामा सकारात्मक आशा जगाउने र त्यसका लागि आफूले पनि योगदान दिनुपर्छ भन्ने भावनाको विकास गराउन चाहेको मण्डलको भनाइ छ ।

तपाईको प्रतिक्रिया