क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई तथा शुभकामना

  फागुन ११, २०७९

काठमाडौँ, फागुन ११ : दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले लिग–टु अन्तर्गत नै कीर्तिपुरमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच भएको खेलमा शतप्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाई दिनुभयो ।

उहाँले क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लागि गौरवको कुरा त हुँदै हो भन्दै सम्पूर्ण खेलाडी, आम जनता र सिङ्गो राष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताउनुभयो ।

उहाँले शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थका निम्ति मात्र नभई राष्ट्रको प्रतिष्ठा, देशको समग्र अर्थतन्त्र, कूटनीति क्षेत्रका निम्ति पनि खेल क्षेत्रको भूमिका निकै बढेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले स्कटल्याण्ड र नामिबियाविरुद्ध जित हात पारेको टोलीका खेलाडीलाई जनही रु दुई लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दै आगामी खेलका लागि पनि सफलताका निम्ति शुभकामना व्यक्त गर्नुभयो ।

यही फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएई प्रस्थान गर्दैछ । नेपालले त्यहाँ युएई र पपुवान्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै सदस्यसचिव घिसिङले उत्कृष्ट जित हासिल गर्दै सारा नेपालीलाई खुसी पारेकामा टोलीप्रति आभार व्यक्त गर्दै बधाई दिनुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले प्रधानमन्त्रीले भेटरै बधाई दिएको र खेलाडीको हौसला बढाएकामा धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया