राष्ट्रपतिमा माधवको व्यापक चर्चा, मान्लान् त देउवा र दाहालले ?

  फागुन ०९, २०७९

काठमाडौं, फागुन ९ : नेपालका राजनीतिक दलहरुले राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादमा ल्याएपछि विभिन्न शंका, उपशंका उब्जिन थालेका छन् । राष्ट्रपतिको निर्वाचन मिति तोकिएसँगै विभन्नि दलका शीर्ष नेताहरुबीच भेटघाट पनि बाक्लिएको छ । तर, खास निचोडमा पुग्न सकिएको छैन ।

राष्ट्रपतिमा एमाले र कांग्रेसको आशक्तिका कारण राजनीतिक वृत्तमा सरगमी बढेको छ । विवाद र संवाद लम्बिदै जाँदा विभिन्न तत्वहरुले खेल्ने मौका पनि पाइरहेका छन् ।

आज मात्रै एक सूचना बाहिरियो, राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरे तर यसको पुष्टि भइसकेको छैन ।

स्वयं माधव नेपालले पनि औपचारिक रुपमा आफूलाई राष्ट्रपतिको प्रस्ताव नआएको बताउनुभएको छ । नेपालले आफूले पनि राष्ट्रपतिमा नसोचेको बताउनुभएको छ ।

राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिएपनि संसद्को ठूलो दल कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । राष्ट्रपतिका लागि सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने भन्दै पार्टीभित्र र बाहिरबाट दबाब आएपछि कांग्रेसले निर्णय गर्न ढिलाइ गरिरहेको हो ।

कांग्रेसबाट राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चर्चामा थिए । तर, देउवालाई पनि प्रस्ताव आएकोले माओवादीको निर्णय कुरेर कांग्रेसले उम्मेदवार तय गर्ने योजना बनाएको छ । कांग्रेसका नेता मोहन बस्नेतले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको विकल्प नभएको दाबी गर्नुभयो ।

राष्ट्रपतिजस्तो संस्थालाई आफ्नो स्वार्थ अनुकुल प्रभावित पार्ने हेतुले विभिन्न क्रियाकलाप भइरहेको प्रति नागरिक समाजले आपत्ति जनाएको छ । दलभन्दा बाहिरको व्यक्तिलाई राष्ट्रपतिमा सिफारिस गर्नुपर्ने उनीहरुको तर्क छ ।

राजनीतिक विश्लेषकहरुले पनि राजनीति कमजोर बन्दै जाँदा विदेशले पनि खेल्ने मौका पाइरहेको बताएका छन् । राजनीतिक डा। पुरञ्जन आचार्यका अनुसार राष्ट्रपति खोजेको भन्दा पनि दलहरुले रबर स्ट्याम्प खोजेका छन् ।

नेपालको पछिल्लो राजनीति हेर्दा पद र सत्ताका लागि जुनसुकै सौदाबाजी गर्ने प्रचलन हाबी भएको देखिएको छ । फरक सिद्धान्त बोकेका पार्टीहरुको अपवित्र गठबन्धन, व्यवस्था बदल्न लागेका दलहरुको पुरानै व्यवस्थाका हिमायतीहरुसँगको साँटगाँठले लोकतन्त्र बलियो बन्ने र मुलुक समृद्ध बन्नेमा शंकै देखिन्छ ।

 

तपाईको प्रतिक्रिया