एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसको कसरत, प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर

  फागुन ०५, २०७९

काठमाडौं, फागुन ५ : नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान रक्षाका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने बताउँदै संविधान रक्षाका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पनि उल्लेख गरे ।

उनले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भएपनि राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर काँग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न आग्रह गरे ।

उनले राष्ट्रपति नेपाली काँग्रेसको हुने वा नहुने भन्नेकुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्नेकुरा प्रमुख रहेको बताए ।

उनले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको बताए । प्रवक्ता महतले राष्ट्रपतिमा काँग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताए ।

उनले भने, राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरु छन् ती एक ठाउँमा उभिएर काँग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ ।

गठबन्धनमा खास गरेर नेकपा माओवादी केन्द्र र यसको नेता प्रधानमन्त्री प्रचण्डजी त्यस बेलामा संविधानको रक्षाको विषय नै प्रमुख विषय बनाएर नेपाली काँग्रेस नेतृत्वमा गठबन्धन बनेको हो ।

तपाईको प्रतिक्रिया