एकै महिनामा ४२ देशका पर्यटकको आगमन

  फागुन ०२, २०७९

काठमाडौँ,फागुन २ : हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन ।

सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्क रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्क छ । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ तर यसवर्ष हिँउ परेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो, हिउँ नपरे पनि झन विदेशी पर्यटक बढेका छन्”, प्रमुख गौतमले भन्नुभयो ।

नयाँ वर्षको योजना बनाएर कोरियाका पर्यटक मनाङ भ्रमणमा आएका थिए । उनीहरूले यहाँको भन्दा बढी चिसोमा बसिरहेका हुनाले हिउँदमा त्यहाँका पर्यटक बढी आउने गरेको उहाँले बताउनुभयो । हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायत विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएका थिए ।

त्यस्तै फ्रान्सका ३६, अष्टे«लियाका ३४, बेलायतका २१, जर्मनका २१, अमेरिकाका १५, बेल्जियमका १३, भारतका १२ र नेदरल्याण्ड्सका १० पर्यटक भित्रिएका र अन्य देशबाट भने अलिकम पर्यटक भित्रिएको प्रमुख गौतमको भनाइ थियो ।

“चिसोका कारण प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई मात्र तिलिचो ताल र थोराङ्ला भएर जान अनुमति दिएका छौँ । हिउँ नपर्दा सुख्खापन बढेको छ । यसले कृषि बालीमा समेत समस्या हुने देखिएको छ”, उहाँले भन्नुभयो, “यसवर्ष मनाङमा हिमपात हुने स्थिति देखिएको छैन ।”

“हिमपात भएमा हिउँ पहिरो आउन सक्ने भएकाले पूर्णरूपमा यात्रा रोकिन्छ तर यसपटक हिमपात नभएकाले पर्यटकलाई आवश्यक सतर्कता अपनाएर जान दिइएको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया