पद रिक्त भएको १ वर्षपछि राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै, निर्वाचनको मिति तय

  माघ १३, २०७९

काठमाडौं,माघ १३ : राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रिय सभाको आज बसेको बैठकमा १ वर्षदेखि रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तोक्नुभएको हो ।

निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का‌ महासचिव भरतराज गौतमलाई निर्देशन दिनुभएको छ ।राष्ट्रिय सभाको आजको बैठक ४ मिनेटमात्रै बसेको थियो ।

बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो ।

राष्ट्रिय सभाको अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुपर्ने व्यवस्था छ। राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो। राष्ट्रिय सभाको अर्को बैठक उपाध्यक्षको निर्वाचनका लागि माघ २३ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया