बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

  माघ ११, २०७९

काठमाडौँ, माघ ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले आफूलाई असाध्यै खुसी लागेको बताउनुभएको छ । नेपाली बक्सिङ खेलाडी तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू २२ बक्सिङ च्याम्पियन सीपको फाइनलमा प्रवेश गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले तामाङको फाइनल प्रवेशले नेपाल र नेपालीको गौरव बढाएकामा प्रसन्नता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले खेलाडी तामाङलाई आज हुने फाइनल खेलमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ ।

बैंककमा आइतबार महिला ४८ किलो तौल समूहको सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुग्नुभएको हो । फाइनल प्रवेशसँगै सुष्माको रजत पदक पक्का भएको छ ।

अब स्वर्ण पदकका लागि सुष्माले आज उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने कार्यक्रम छ । आजको खेल फाइनल हो ।

तपाईको प्रतिक्रिया