जनकपुरधाम, १० : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला उहाँले दलहरूबीच सरकार विस्तारमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले शुक्रबार विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको जानकारी दिनुभयो ।
“सत्ता गठबन्धनमा विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भनेर प्रचार गरिएको विषयमा म पनि जानकार छु”, मुख्यमन्त्री यादवले रासससँग भन्नुभयो, “हामीबीच कुनै विवाद छैन । कुन पार्टीले कति र कुन मन्त्रालयको जिम्मा पाउने भनेर मोटामोटी समझदारी भएको छ ।
अब शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।” मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र काठमाडौँमा रहेकाले शुक्रबारसम्म पर्खिनुपरेको र उहाँ बिहीबार फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने प्रष्ट पार्नुभयो ।
मुख्यमन्त्री यादवको सिफारिसमा गत पुस २९ गते उहाँसँगै थप तीन जना प्रदेशसभा सदस्य, एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, जनता समाजवादी पार्टी ९जसपा० का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहले बिनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गर्नुभएको थियो ।
जसपा मधेस प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवले माघ ३ गते विश्वासको मत लिएको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने तीन जना मन्त्रीले पनि कुनै जिम्मेवारी पाउनुभएको छैन ।
“सुरुमा दलहरुबीच छलफल गर्नुपर्ने थियो, पछि म आफैँ पनि काठमाडौँ जानुपर्ने भएपछि केही समय ढिला हुन गयो”, मुख्यमन्त्री यादवको भनाइ थियो, “अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुपर्ने कुनै कारण छैन ।”