डा. सन्दुक रुइत भन्छन्- राष्ट्रपति पद मेरो लागि होइन

  माघ ०४, २०७९

काठमाडौँ , माघ ४ : वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले देशको राष्ट्रपति पद आफ्नो लागि नभएको बताउनुभएको छ ।

हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रपति पद आफ्नो लागि नभएको प्रष्ट पार्नुभएको हो।

डा. रुइतले लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाहे रबरस्टाम्प नै किन नहोस्, राष्ट्रपति पद निकै महत्वपूर्ण हो, हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’

उहाँले थप्नुभयो, ‘म यही कारणले नै यति अगाडि आएको छु । सक्ने जति गर्ने हो । सक्नेभन्दा अरु काम म गर्दिनँ । अहिलेलाई यो काम भन्दा मैले गर्न सक्ने कामहरु धेरै छन् ।’

अहिले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठाइरहेका छन् । यस विषयमा उहाँलाई पत्रकारले प्रश्न सोधेका थिए । डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया