पाकिस्तानविरुद्धको सिरिज न्युजिल्यान्डको पोल्टामा

  पुष ३०, २०७९

काठमाडौं, पुस ३० : घरेलु टोली पाकिस्तानविरुद्ध तीन खेलको एकदिवसीय सिरिज न्युजिल्यान्डले जितेको छ । कराँचीस्थित नेशनल स्टेडियममा शुक्रबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई दुई विकेटले हरायो । यससँगै पाहुना टोली न्युजिल्यान्डले सिरिज २–१ ले जितेको हो ।

अन्तिम खेलमा जितका लागि पाकिस्तानले दिएको दुई सय ८१ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.१ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । न्युजिल्यान्डको जितमा ग्लेन फिलिप्सले अविजित ६२ रन बनाउनुभयो ।

कप्तान केन विलियम्सनले ५३, ओपनर डेभन कन्वेले ५२, डर्याल मिचेलले ३१, फिन एलेनले २५ रन, टम लाथमले १६, र मिचेल सान्टनारले १५ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका मोहम्मद वासिम जुनियर र अघा सलमानले दुई दुई विकेट लिनुभयो । उस्मा मिर र मोहम्मद नवाजले एक एक विकेट झार्नुभएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८० रनब नाएको थियो । पाकिस्तानका लागि ओपनर फखर जमानले एक सय एक रन बनाउनुभयो । मोहम्मद रिजवानले ७७, अघा सलमानले ४५ र हरिस सोहेलले २२ रन बनाउनुभयो ।

बलिङमा न्युजिल्यान्डका टिम साउथीले तीन विकेट लिनुभयो । लोकी फर्गुसनले दुई तथा माइकल ब्रेसवेल र ईश सोधीले एक एक विकेट लिनुभयो । यसअघि पहिलो खेलमा पाकिस्तान ६ विकेछटले विजयी भएको थियो । दोस्रो खेलमा न्युजिल्यान्ड ७६ रनले विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया